काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५ वर्षको गौरवमय यात्रा पूरा गर्ने क्रममा नेपालको जीवन बीमा इतिहासमै पहिलो पटक १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको हो। यसअघि कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सफलता कम्पनीप्रति विश्वास गर्ने सम्पूर्ण बीमित, समर्पित बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय तथा सबै सरोकारवालाको साझा उपलब्धि भएको बताएका छन्। उनले कम्पनीको सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन्।
नेपाल लाइफले २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यो उपलब्धिले नेपालको जीवन बीमा उद्योगमा नयाँ मापदण्ड स्थापित गरेको जनाएको छ।
कम्पनीले आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा विस्तार, नवीन बीमा योजना सञ्चालन, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि र विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
नेपाल लाइफले ‘२५ वर्षको विश्वास, आज १३ अर्बको ऐतिहासिक उपलब्धि’ लाई ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको साझा सफलताका रूपमा ग्रहण गर्दै भविष्यमा पनि जीवन बीमा क्षेत्रमा अग्रणी भूमिका कायम राख्ने विश्वास व्यक्त गरेको छ।



























































