सप्तरी- निरन्तरको वर्षाका कारण कोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै खतराको तह नजिक पुगेपछि प्रशासनले उच्च सतर्कता अपनाएको छ। पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ भने जोखिमको संकेतस्वरूप रातो बत्तीसमेत बालिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी हेमराज घिमिरेका अनुसार आइतबार बिहान ८ बजे कोसीमा १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएको थियो। केही घण्टामै बहाव तीव्र रूपमा बढेर दिउँसो ४ बजेसम्म २ लाख ९ हजार ८४० क्युसेक पुगेको हो। त्यसअघि दिउँसो ३ बजे १ लाख ९० हजार ३९० क्युसेक पानी बगेको मापन गरिएको थियो।
पानीको बहाव बढेपछि ब्यारेज सञ्चालन गर्ने निकायले नदीको दबाब व्यवस्थापन गर्न आधा अर्थात् २८ वटा ढोका खोलेको जनाएको छ। नदीको सतह निरन्तर बढिरहेकाले थप ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै सम्बन्धित निकायले नदीको अवस्थामाथि निरन्तर निगरानी गरिरहेको छ।
प्रशासनले कोसी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई अनावश्यक रूपमा नदी किनारमा नजान, माछा मार्ने, डुंगा सञ्चालन गर्ने तथा नदी तर्ने जस्ता गतिविधि नगर्न आग्रह गरेको छ। नदी आसपासका बस्तीमा आवश्यक परे उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको पनि जनाएको छ।
मौसमविद्ले देशका विभिन्न स्थानमा वर्षा जारी रहने पूर्वानुमान गरेकाले कोसीसहित प्रमुख नदीहरूमा पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेको छ। यसलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नागरिकलाई आधिकारिक सूचना पालना गर्न, अफवाहमा विश्वास नगर्न र जोखिमयुक्त क्षेत्रबाट सतर्क रहन अनुरोध गरेको छ।



























































