काठमाडौं – मिस्टर सुप्रानेशनल नेपाल २०२६ का विजेता मृदुल आचार्य विश्वकै प्रतिष्ठित पुरुष सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न २० जुलाई मा पोल्याण्ड प्रस्थान गरेका छन्।
प्रतियोगिता पोल्याण्डको मालोपोल्स्का (Małopolska) मा आयोजना हुँदैछ भने यसको भव्य ग्रान्ड फिनाले १ अगस्ट २०२६ मा हुनेछ। व्यक्तित्व, नेतृत्व क्षमता, अनुशासन, विनम्रता र व्यावसायिक उत्कृष्टताको अद्वितीय संयोजन भएका मृदुल आचार्यले प्रतियोगिताको सुरुवातदेखि नै प्रभावशाली उपस्थिति जनाइरहेका छन्। प्रतियोगिताअन्तर्गत आयोजना हुने महत्वपूर्ण “Supra Chat” चुनौतीमा उनी दोस्रो चरण (Second Round) मा प्रवेश गरिसकेका छन्, जसले अन्तर्राष्ट्रिय मञ्चमा उनको प्रतिस्पर्धात्मक क्षमता र लोकप्रियतालाई थप पुष्टि गरेको छ।
नेपालले विगत पाँच संस्करणमा मिस्टर सुप्रानेशनलमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै आएको छ। धिरोज काजी बस्नेतले टप–२० स्थान बनाउन सफल भएका थिए भने सनीश श्रेष्ठले प्रतिष्ठित Mr. Talent उपाधि जितेका थिए। त्यसैगरी, डा. सन्तोष उपाध्यायले नेपालको इतिहासकै उत्कृष्ट प्रदर्शन गर्दै थर्ड रनर–अप (3rd Runner-up) को स्थान प्राप्त गर्नुका साथै Mr. Influencer उपाधि जितेर नेपालको गौरवलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेका थिए।
मिस्टर सुप्रानेशनल नेपालका राष्ट्रिय निर्देशक डा. सन्तोष उपाध्यायले मृदुल आचार्यको क्षमता, विनम्र स्वभाव, मेहनत र व्यावसायिक उत्कृष्टतामाथि पूर्ण विश्वास व्यक्त गर्दै यस वर्ष नेपालले इतिहास दोहोर्याउने मात्र नभई अझ उत्कृष्ट नतिजा हासिल गर्ने अपेक्षा व्यक्त गरेका छन्।
उनले भने, “मृदुलमा विश्वस्तरमा प्रतिस्पर्धा गर्न आवश्यक सम्पूर्ण गुणहरू छन्। उनको व्यक्तित्व, अनुशासन, विनम्रता, बौद्धिक क्षमता र निरन्तर मेहनतले उनी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा अझ उचाइमा पु¥याउनेमा हामी विश्वस्त छौं। विगत पाँच संस्करणमा नेपालले दुई उत्कृष्ट प्लेसमेन्ट र दुई सबटाइटल जितिसकेको छ। छैटौं संस्करणमा मृदुलले नेपालका लागि तेस्रो प्लेसमेन्ट ल्याउने विश्वास हामीले गरेका छौं।”
नेपालको प्रतिनिधित्व केवल एउटा व्यक्तिगत यात्रा नभई सम्पूर्ण नेपालीको गौरव र राष्ट्रिय पहिचानलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर भएको उल्लेख गर्दै आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले सम्पूर्ण नेपालीलाई मृदुल आचार्यको यात्रामा साथ, शुभेच्छा र समर्थनका लागि अनुरोध गरेको छ।
मिस्टर सुप्रानेशनल २०२६ को ग्रान्ड फिनाले १ अगस्टमा पोल्याण्डको मालोपोल्स्कामा आयोजना हुनेछ, जहाँ मृदुल आचार्यले विश्वभरका प्रतिस्पर्धीहरूसँग नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।



























































