काठमाडौं- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, बढी रकम असुली तथा शोषण नियन्त्रण गर्ने उद्देश्यले अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ।


ADVERTISEMENT


मंगलबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले विभागमा पुगेर उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।


ADVERTISEMENT

# # #


मन्त्री यादवले अब वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी वा अन्य समस्यामा परेका सेवाग्राहीले मोबाइल वा कम्प्युटरमार्फत अनलाइनबाटै उजुरी दर्ता गर्न सक्ने जानकारी दिए। उजुरीसँग सम्बन्धित प्रमाणसमेत डिजिटल माध्यमबाट अपलोड गर्न सकिने व्यवस्था गरिएको उनले बताएका छन्।

उनका अनुसार उजुरी दर्ता भएपछि सेवाग्राहीले इमेल वा सन्देशमार्फत प्राप्त हुने ट्र्याकिङ कोड प्रयोग गरी आफ्नो मुद्दाको प्रगति जुनसुकै बेला अनलाइनबाट हेर्न सक्नेछन्। यसले सेवाग्राहीलाई विभागमा पटक–पटक धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ।

मन्त्री यादवले २०५७ सालदेखि थन्किएर रहेका ४० हजारभन्दा बढी पुराना उजुरी फाइललाई एकीकृत गरी डिजिटल अभिलेखीकरण गर्ने कामसमेत भइरहेको जानकारी दिएका छन्। यसले पुराना मुद्दाको व्यवस्थापन र छानबिनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

वैदेशिक रोजगारीका नाममा हुने ठगीलाई शून्यमा झार्ने लक्ष्यका साथ सरकारले विभिन्न सुधारका कार्यक्रम अघि बढाएको उल्लेख गर्दै मन्त्री यादवले ठगीमा संलग्न व्यक्तिलाई जहाँ भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिए। यसका लागि नेपाल प्रहरी तथा अनुसन्धान निकायसँग समन्वय गरेर काम भइरहेको उनले बताए।

यसअघि मन्त्री यादवले वैदेशिक रोजगार विभागको सेवा प्रवाह, कार्यसम्पादन र सेवा व्यवस्थापनको अनुगमन गर्नुका साथै सेवाग्राहीसँग प्रत्यक्ष छलफल गरी उनीहरूको गुनासा र सुझावसमेत सुनेका थिए।