काठमाडौं- स्वास्थ्य उपचारका क्रममा हङकङमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले स्वदेश फर्कने तयारी गरिरहेको जानकारी दिँदै देशमा प्रतिशोधको राजनीति भन्दा राष्ट्रिय सहकार्य, संवाद र एकताको आवश्यकता रहेको बताएका छन्।
मंगलबार सार्वजनिक गरेको आफ्नो सन्देशमा देउवाले राजनीतिक असहमति स्वाभाविक भए पनि त्यसलाई प्रतिशोधको माध्यम बनाउनु लोकतान्त्रिक मूल्य र संस्कृतिविपरीत हुने उल्लेख गरेका छन्। उनले मुलुकले अहिले विभाजनभन्दा सहकार्य, टकरावभन्दा संवाद र प्रतिशोधभन्दा सहिष्णुताको बाटो रोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।
देउवाले आफ्नो सन्देशमा भनेका छन्, “प्रतिशोध होइन, सहकार्य चाहिएको छ। त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ।”
उनले नेपालको लोकतान्त्रिक आन्दोलनले आर्जन गरेका उपलब्धिको संरक्षणका लागि सबै राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र राज्यका निकायबीच आपसी विश्वास र सहकार्य आवश्यक रहेको बताएका छन्। इतिहासबाट सिक्दै वर्तमान चुनौतीको सामना गर्न र भविष्य निर्माणका लागि साझा प्रयास अपरिहार्य रहेको उनको भनाइ छ।
देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना, संविधानप्रतिको प्रतिबद्धता र राष्ट्रप्रेममाथि आफूलाई पूर्ण विश्वास रहेको उल्लेख गर्दै देश कठिन परिस्थितिमा पर्दा पनि नेपाली जनताले लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा उभिने विश्वास व्यक्त गरेका छन्।
स्वास्थ्य उपचारका लागि हङकङ पुगेका देउवा उपचारपछि छिट्टै नेपाल फर्कने तयारीमा छन्। उनले स्वदेश फर्किएपछि देशको समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक मूल्यको संरक्षण र राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउन सक्रिय रहने संकेतसमेत दिएका छन्।




























































