काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक अहिले राजनीतिक, आर्थिक तथा सामाजिक रूपमा गम्भीर चुनौतीको सामना गरिरहेको भन्दै देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गर्नुको विकल्प नरहेको बताएका छन्।


ADVERTISEMENT


बीपी स्मृति स्वास्थ्य प्रतिष्ठान र बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्रको आन्तरिक विवादभन्दा पनि मुलुकको समग्र अवस्था अत्यन्तै नाजुक र चिन्ताजनक बनेको बताए। देशको हितलाई केन्द्रमा राखेर सबै राजनीतिक दल र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य, संवाद र राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।


ADVERTISEMENT

# # #


डा. कोइरालाले जननायक बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति अघि सार्दै मुलुकलाई एकताबद्ध बनाउने प्रयास गरेको स्मरण गर्दै अहिलेको परिस्थितिमा पनि त्यही सोच र नेतृत्वको आवश्यकता रहेको बताएका छन्। देशमा बढ्दो राजनीतिक अस्थिरता, आर्थिक सुस्तता, युवाको विदेश पलायन, रोजगारीको अभाव र जनतामा बढ्दो निराशाले मुलुकलाई थप जटिल अवस्थामा पुर्‍याएको उनको भनाइ थियो।

उनले कांग्रेसभित्र पनि एकता, विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै पार्टीभित्रको गुटबन्दी अन्त्य गरेर जनताको अपेक्षाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। कांग्रेस एकताबद्ध हुन नसके पार्टीको भविष्यसमेत चुनौतीपूर्ण बन्न सक्ने चेतावनी दिँदै उनले अहिले पार्टीको आन्तरिक स्वार्थभन्दा देशको भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

डा. कोइरालाले बीपी कोइराला स्वदेश फर्किएको समयको राजनीतिक अवस्था र वर्तमान अवस्थाको तुलना गर्दै अहिले देश झन् जटिल मोडमा पुगेको बताएका छन्। उनले लोकतन्त्रको सुदृढीकरण, सुशासन, आर्थिक सुधार र राष्ट्रिय हितको संरक्षणका लागि सबै राजनीतिक शक्तिहरूबीच साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार अहिलेको आवश्यकता आरोप–प्रत्यारोप होइन, सहकार्य र राष्ट्रिय जिम्मेवारीको भावना हो। देशलाई संकटबाट बाहिर निकाल्न सबै दल, नागरिक समाज र सरोकारवाला पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।