काठमाडौं- मिसेस नेपाल वर्ल्ड २०२६ का लागि आवेदन खुला गरिएको छ। आयोजक रिबन इन्टरटेनमेन्टले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गर्दै आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन साउन २३ गते हुने छ। अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई विभिन्न तालिम, व्यक्तित्व विकास तथा ग्रुमिङमार्फत ग्रान्ड फिनालेसम्म पुर्याइनेछ।
रिबन इन्टरटेनमेन्टका सीईओ निशुकान्त झाका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले कात्तिक १४ गते आयोजना हुनेछ।
यस वर्षको प्रतियोगितामा सहभागी हुन उचाइ र तौलको कुनै मापदण्ड नराखिएको आयोजकले जनाएको छ। साथै, विवाहित महिलामात्र नभई सम्बन्धविच्छेद भएका तथा एकल महिलाले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आयोजकका अनुसार प्रतियोगितामार्फत महिलाको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक योगदानलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
आवेदन फारम खल्ती एप वा लिब्रान इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगितामा देशभरबाट इच्छुक महिलालाई सहभागिताका लागि आवेदन दिन आह्वान गरिएको छ।



























































