काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको आन्तरिक एकताप्रति नेतृत्व गम्भीर नभएको आरोप लगाएको छ।
बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित छुट्टै कार्यक्रममा संस्थापनइतर पक्षका नेताहरूले पार्टी सभापति गगन थापामाथि पार्टीलाई एकताबद्ध बनाउन आवश्यक पहल नगरेको आरोप लगाए। उनीहरूले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्दै उक्त भेलामार्फत आगामी राजनीतिक रणनीति तय गरिने बताएका छन्।
कांग्रेस नेता प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी विभाजनतर्फ जान नहुने भन्दै १५औँ महाधिवेशनलाई एकताको आधार बनाउनुपर्ने धारणा राखे।
पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस इतिहासमै कठिन अवस्थामा पुगेको उल्लेख गर्दै पार्टीभित्र सम्मानजनक एकता कायम गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको भएको बताए। उनले पार्टीको सिद्धान्तसँग सम्झौता गरेर कसैसँग समर्पण गर्न नसकिने स्पष्ट पारे।
त्यस्तै नेता डा. शेखर कोइरालाले कांग्रेसमा ‘हुकुमी शासन’को शैली हाबी भएको आरोप लगाउँदै स्पष्ट कारणबिनै नेतामाथि कारबाही गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए। उनले पार्टीभित्र एकताको पहल नगर्दा उत्पन्न हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्ने धारणा राखेका छन्।
पूर्व उपसभापति विमलेन्द्र निधिले आफूहरू पार्टी एकताकै पक्षमा रहे पनि आफ्ना माग र सहमतिका आधारहरू बेवास्ता गरिए नयाँ बाटो रोज्न बाध्य हुने चेतावनी दिएका छन्। उनले पार्टी नेतृत्वमा दूरदृष्टि र परिपक्वताको अभाव रहेको टिप्पणी गरेका छन्।
कार्यक्रममा बोल्ने अन्य नेताहरूले पनि पार्टीलाई कमजोर बनाउने गतिविधि रोक्न नेतृत्वलाई आग्रह गर्दै देश र लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले कांग्रेसभित्रको एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।



























































