काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना पोखरेलले विश्वविद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेपको पूर्ण अन्त्य गरिने बताएका छन्। उनले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।


ADVERTISEMENT


बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपतिसमेत रहेकी मन्त्री पोखरेलले सरुवा, बढुवा र नियुक्तिजस्ता प्रक्रियामा कुनै पनि प्रकारको दलगत वा राजनीतिक दबाब स्वीकार नगरिने बताए।


ADVERTISEMENT

# # #


उनले विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीलाई कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप वा दबाब आए तत्काल शिक्षा मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे। खुला प्रतिस्पर्धामार्फत उपकुलपति छनोटको अभ्यासले उच्च शिक्षामा नयाँ ऊर्जा, पारदर्शिता र प्रतिस्पर्धी वातावरण सिर्जना गरेको उनको भनाइ थियो।

मन्त्री पोखरेलले विश्वविद्यालय सुधार केवल पदाधिकारीको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा सरोकारवाला सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए। उनले विदेशी विश्वविद्यालयका प्राध्यापकलाई नेपाल ल्याउने तथा नेपाली प्राध्यापक र विद्यार्थीलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग अध्ययन–अध्यापन तथा अनुसन्धानमा जोड्ने विषयमा विभिन्न देशका राजदूतहरूसँग छलफल भइरहेको जानकारी पनि दिइन्।

उनका अनुसार विश्वविद्यालयलाई थप स्वायत्त बनाउने र प्राध्यापकलाई शैक्षिक स्वतन्त्रता प्रदान गर्ने नीति सरकारको प्राथमिकतामा रहेको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग, शैक्षिक कार्यक्रमको पुनर्संरचना, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्द्धन, अन्तरविषयक सहकार्य, अनुसन्धान कोष विस्तार र अन्तर्राष्ट्रिय साझेदारीलाई विश्वविद्यालयका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने बताए।

उपकुलपति थापाले राष्ट्रिय आवश्यकता तथा विश्वव्यापी श्रम बजारको मागअनुसार दक्ष, सिर्जनशील, नैतिक र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालय निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।