काठमाडौं- कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि तथा नवप्रवर्तनका पछिल्ला प्रवृत्तिलाई एकै स्थानमा अनुभव गराउने उद्देश्यसहितसनवेइयन्स इनोभेसन फेस्ट २०२६’ आयोजना हुने भएको छ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता, स्टार्टअप तथा उद्योग क्षेत्रका विज्ञलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित आयोजना हुने यो कार्यक्रम साउन १० गते (आइतबार) काठमाडौंको अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार कार्यक्रममा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकाससँग सम्बन्धित विविध गतिविधि समेटिनेछन्। सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै विभिन्न कार्यशाला, प्यानल छलफल, प्रतियोगिता तथा प्रदर्शनीमा सहभागिता जनाउन सक्नेछन्।

सन्वे कलेजका प्रिन्सिपल खुशल रेग्मीका अनुसार कार्यक्रमको प्रमुख आकर्षणमध्ये रोबोटिक्स तथा ड्रोन वर्कसप रहनेछ। यसमा सहभागीहरूले अत्याधुनिक रोबोट र ड्रोन प्रविधिको प्रत्यक्ष अवलोकनसँगै प्रयोगात्मक अभ्यास गर्ने अवसर पाउनेछन्।

त्यसैगरी, पछिल्लो समय विश्वभर लोकप्रिय बन्दै गएको भाइब कोडिङ (Vibe Coding) सम्बन्धी कार्यशाला तथा प्रतियोगिता पनि आयोजना गरिनेछ। सहभागीहरूले आधुनिक एआई उपकरणको प्रयोग गर्दै छिटो, प्रभावकारी र सिर्जनात्मक रूपमा सफ्टवेयर विकास गर्ने सीप सिक्न सक्नेछन्।

कार्यक्रममा ‘एआई इन जर्नालिजम’, ‘फिजिकल एआई’, ‘एआई फर प्रोडक्टिभिटी’ तथा ‘एआई टक सिरिज’ अन्तर्गत विभिन्न विषयमा प्यानल छलफल हुनेछन्। बौद्धिक सम्पत्ति अधिकार (आईपी), डाटा गोपनीयता तथा स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग, सम्भावना र चुनौतीबारे विज्ञहरूबीच अन्तरक्रिया गरिनेछ।

आयोजकका अनुसार एआई एसोसिएसन अफ नेपाल, रोबोटिक्स एसोसिएसन, फिनटेक एसोसिएसन तथा नामी लगायतका संस्थाको सहकार्यमा एआईसम्बन्धी विशेष सत्र र कार्यशाला सञ्चालन गरिनेछ।

विद्यार्थीहरूको अनुसन्धान र सिर्जनशीलतालाई प्रोत्साहन गर्न स्टुडेन्ट इनोभेसन शोकेस पनि आयोजना हुनेछ। यसमा अन्तिम वर्षका परियोजना, पहिलो वर्षका नवीन अवधारणा, अनुसन्धान परियोजना तथा RAIN Project लगायतका नवप्रवर्तनात्मक कार्यहरू प्रदर्शन गरिनेछन्। यसले विद्यार्थीलाई आफ्ना परियोजना उद्योग, विज्ञ तथा सम्भावित लगानीकर्तासामु प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

युवाको करिअर विकासलाई लक्षित गर्दै करिअर काउन्सिलिङ र मक इन्टरभ्यु सत्रसमेत सञ्चालन गरिनेछ। उद्योगका विशेषज्ञहरूसँग प्रत्यक्ष संवादमार्फत सहभागीहरूले रोजगारीका अवसर, अन्तर्वार्ता तयारी तथा व्यावसायिक विकाससम्बन्धी उपयोगी सुझाव प्राप्त गर्न सक्नेछन्।

प्रविधिसँगै मनोरञ्जनलाई पनि प्राथमिकतामा राखिएको कार्यक्रममा विभिन्न फुड स्टल, इन्टरएक्टिभ गेम, फोटो बुथ लगायतका आकर्षण रहनेछन्।

आयोजकले विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता, स्टार्टअप, उद्योग क्षेत्रका प्रतिनिधि तथा नवप्रवर्तनमा रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रममा सहभागी हुन पोस्टरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी अनलाइन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।