काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्लो समय नेपाली राजनीतिमा तर्क, विवेक र मर्यादाभन्दा आरोप–प्रत्यारोप, गालीगलौज र अहंकार हाबी हुँदै गएको बताएका छन्। उनले राजनीति नाफा–घाटाको कारोबार नभई जनताको सेवामा समर्पित हुने माध्यम भएकाले त्यसको मूल मूल्य र उद्देश्य जोगाउन सबै राजनीतिक शक्ति जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्।


ADVERTISEMENT


बिहीबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ कार्यक्रममा बोल्दै आङ्देम्बेले सार्वजनिक बहसको स्तर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न राजनीतिक दल तथा समूहका नेताहरूका अभिव्यक्तिमा तर्क र विवेकको अभाव देखिन थालेको उनको भनाइ थियो।


ADVERTISEMENT

# # #


उनले पछिल्ला दिनमा सार्वजनिक मञ्च र सञ्चार माध्यममा हुने बहस तथ्य र विचारमा आधारित हुन छाडेर व्यक्तिगत आक्षेप, गालीगलौज र अहंकारतर्फ उन्मुख भएको बताएका छन्। यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने र जनतामा राजनीतिक नेतृत्वप्रतिको विश्वास घटाउने उनको भनाइ थियो।

आङ्देम्बेले राजनीतिलाई व्यापार, व्यक्तिगत स्वार्थ वा नाफा–हानिको हिसाबले सञ्चालन गर्ने प्रवृत्तिबाट मुक्त गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। जनताको सेवा, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रहितलाई केन्द्रमा राखेर राजनीति सञ्चालन गर्नु आजको नेतृत्वको सबैभन्दा ठूलो दायित्व भएको उनले बताएका छन्।

उनका अनुसार वास्तविक राजनीतिले गरिब, निमुखा, श्रमजीवी, किसान र इमानदार कार्यकर्ताको हितलाई प्राथमिकतामा राख्नुपर्छ। जनताको जीवनस्तर सुधार्ने, सुशासन कायम गर्ने र विकासको गति बढाउने उद्देश्यबाट राजनीति विचलित हुन नहुने उनको धारणा थियो।

आङ्देम्बेले नेपाली कांग्रेसले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको संरक्षणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि देशलाई समृद्धितर्फ अघि बढाउने नेतृत्व कांग्रेसले नै गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। उनले कार्यकर्ता र आमजनताको विश्वासलाई कायम राख्दै पार्टीलाई अझ जिम्मेवार, प्रभावकारी र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले वर्तमान परिस्थिति पार्टी र देश दुवैका लागि महत्वपूर्ण मोड भएको उल्लेख गर्दै अब ऐतिहासिक निर्णय गर्ने समय आएको बताएका छन्। मुलुकको भविष्य सुरक्षित गर्न राजनीतिक नेतृत्वले संयम, विवेक, उत्तरदायित्व र दूरदृष्टिका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।