काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आलोचनाको जवाफ दिनमै अल्झिँदा मूल लक्ष्य ओझेलमा पर्ने भएकाले आफ्नो गन्तव्यमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताएका छन्।
बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले हरेक आलोचनाको प्रतिवाद गर्नुभन्दा पार्टीको उद्देश्य, विचार र गन्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले आलोचना स्वाभाविक भए पनि त्यसैमा समय खर्चिँदा राजनीतिक लक्ष्य कमजोर बन्न सक्ने बताए।
उनले जननायक बीपी कोइरालाको विचार, संस्कार र दर्शनलाई २१औँ शताब्दीका युवाको भावना र आकांक्षासँग जोडेर समृद्ध नेपालको नयाँ मार्ग निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। बीपीले अघि सारेका लोकतान्त्रिक मूल्य, समाजवाद र राष्ट्रिय एकताको अवधारणालाई वर्तमान पुस्ताले नयाँ ढंगले आत्मसात् गर्नुपर्ने उनको भनाइ छ।
शर्माले नेपाली कांग्रेसले केवल सत्ताकेन्द्रित राजनीतिमा सीमित नभई बालश्रम उन्मूलन, गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन, सामाजिक न्याय र सुशासनजस्ता दीर्घकालीन सामाजिक एजेन्डालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरण र सक्षम नेतृत्व विकासलाई पनि समान महत्व दिनुपर्ने उनको धारणा छ।
उनले बीपी कोइरालाको सिद्धान्त र आदर्शलाई आत्मसात् गर्दै सभापति गगन थापाको नेतृत्वमा नयाँ सोच, नयाँ शैली र नयाँ संकल्पसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शर्माले नेपालभित्र तथा विदेशमा रहेका सबै नेपालीलाई लोकतान्त्रिक मूल्य, सामाजिक रूपान्तरण र समृद्धिको साझा यात्रामा सहभागी हुन आह्वान गर्दै देश निर्माणमा सबैको सक्रिय योगदान आवश्यक रहेको बताएका छन्।



























































