काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली राणा शासनकालभन्दा पनि कठोर बन्दै गएको आरोप लगाएका छन्।


ADVERTISEMENT


नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले सर्वसाधारण र प्रदर्शनकारीमाथि दमन बढाएको भन्दै यस्तो टिप्पणी गरेका हुन्।


ADVERTISEMENT

# # #


उनले आफूहरूबाट निर्वाचित संसदलाई समेत चल्न नदिने गतिविधि संविधानविपरीत रहेको दाबी गरे। वर्तमान सरकारले संविधान मिचिरहेको आरोप लगाउँदै उनले संविधान संशोधनको बहसभन्दा अघि संविधानको रक्षा गर्न आवश्यक रहेको बताएका छन्।

अध्यक्ष ओलीले संविधान र लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्तिहरूबीच आन्तरिक एकता आवश्यक रहेको उल्लेख गरेका छन्। उनले नेपाली कांग्रेसलाई पनि आफ्नो अस्तित्व कायम राख्दै लोकतन्त्रको रक्षाका लागि सहकार्य गर्दै अघि बढ्न सुझाव दिएका छन्।

उनले प्रदेश सरकारमा देखिएका अन्योल छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्दै प्रदेश र स्थानीय सरकार सहज रूपमा सञ्चालन हुने बताए।

कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान तथा राष्ट्रिय हितमाथि गम्भीर चुनौती देखिएको टिप्पणी गरे। उनले देशभक्त शक्ति, कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूबीच एकता र सहकार्यको आवश्यकता औँल्याएका छन्।

कार्यक्रमका अन्य वक्ताहरूले पनि लोकतन्त्र र संविधानको रक्षा गर्न राजनीतिक दलहरूबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।