काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सवारी नियम पालना गराउँदा कारबाही वा जरिवाना गर्ने अवस्था नै नआओस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।


ADVERTISEMENT


मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले सडक पूर्वाधार, जनचेतना र पाठ्यक्रम सुधारजस्ता विषयमा स्थानीय तह र नागरिक स्वयं अग्रसर भए नियम उल्लंघनका कारण कारबाही गर्नुपर्ने अवस्था कम हुने बताए।


ADVERTISEMENT

# # #


उनले सडक सुरक्षा र व्यवस्थापन ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभएको स्पष्ट पार्दै सडकका दायाँ–बायाँ ‘रोड फर्निचर’, सूचना बोर्ड, जेब्रा क्रसिङलगायतका पूर्वाधार निर्माण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको नभएको उल्लेख गरेका छन्। यस्ता पूर्वाधार निर्माणका लागि ट्राफिक प्रहरीसँग न बजेट रहेको छ, न अधिकार नै रहेको उनको भनाइ छ।

आईजीपी कार्कीले कसैलाई सजाय वा जरिवाना गर्नु ट्राफिक प्रहरीका लागि सुखद विषय नभएको उल्लेख गर्दै सडक सुरक्षाका लागि नियम कार्यान्वयनमा कडाइ गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। आगामी दिनमा सडक सुरक्षा र ट्राफिक सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी, प्रविधिमैत्री, गुणस्तरीय र नागरिक केन्द्रित बनाइने उनले जानकारी दिएका छन्।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरण र नागरिकको जिउधनको सुरक्षा गर्न मेट्रो ट्राफिक एफएमले ट्राफिक व्यवस्थापन, मौसम तथा हवाई सेवासम्बन्धी ‘ट्राफिक अपडेट’ नियमित रूपमा प्रसारण गर्दै महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन्।