काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकमा भएको परिवर्तन, संविधान, राष्ट्रियता र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राष्ट्रियता, संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको संरक्षणका लागि साझा पहल आवश्यक रहेको बताए। साथै गरिबी, अभाव, बेरोजगारी तथा युवाहरूका गम्भीर समस्याविरुद्ध सशक्त आवाज उठाउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने समय आएको उनको भनाइ छ।
माधव नेपालले कम्युनिष्टहरू नै सच्चा देशभक्त र राष्ट्रियताका पहरेदार भएको दाबी गर्दै सामन्तवादको अन्त्य र जनअधिकारको सुनिश्चितताका लागि लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्।
उनले सत्ता प्राप्त गरेपछि विदेशी शक्तिसामु झुक्नुपर्ने मानसिकता गलत भएको उल्लेख गर्दै देशको हित र स्वाभिमानको पक्षमा दृढतापूर्वक आवाज उठाउनुपर्ने धारणा राखेका छन्।
सहसंयोजक नेपालले अनावश्यक रूपमा अतिवादी बन्ने, घुँडा टेक्ने वा आत्मसमर्पण गर्ने दुवै प्रवृत्ति उचित नभएको बताए। विदेशी स्वार्थप्रति सचेत रहँदै राष्ट्रिय स्वाभिमानको रक्षा गर्नुपर्नेमा जोड दिँदै उनले देशको सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्न सबै राजनीतिक शक्तिलाई आह्वान गरेका छन्।



























































