काठमाडौं- नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनले सत्ता र सरकारलाई प्राथमिकतामा राख्दा वैचारिक पक्ष कमजोर बनेको बताएका छन्। उनले कम्युनिस्टहरू सरकार सञ्चालन र सत्ताको राजनीतिमै अल्झिरहेका बेला राजनीतिक वैरीहरूले भने दीर्घकालीन रणनीति बनाएर अघि बढेको टिप्पणी गरेका छन्।
प्रचण्डले आफूहरू सत्ता सञ्चालनमा केन्द्रित भइरहँदा विरोधी शक्तिहरूले २० वर्षे रणनीति तयार गरी योजनाबद्ध रूपमा अघि बढेको उल्लेख गर्दै त्यसको परिणाम अहिले कम्युनिस्ट आन्दोलनले भोगिरहेको बताएका छन्।
उनले कम्युनिस्ट आन्दोलनमा वैचारिक स्कुलिङ, संगठन निर्माण र नयाँ पुस्ताको राजनीतिक प्रशिक्षण कमजोर बन्दै गएको भन्दै यही कारण आन्दोलनले अपेक्षित गति लिन नसकेको धारणा राखेका छन्।
प्रचण्डका अनुसार शान्ति सम्झौतापछि सरकार र सत्ताको कार्यनैतिक व्यवस्थापनमै अत्यधिक केन्द्रित हुनु कम्युनिस्टहरूको सबैभन्दा ठूलो रणनीतिक कमजोरी थियो। वैचारिक बहस, जनसंगठन सुदृढीकरण र राजनीतिक शिक्षालाई बेवास्ता गर्दा आन्दोलनले दीर्घकालीन क्षति बेहोर्नुपरेको उनको भनाइ छ।
उनले अब कम्युनिस्ट आन्दोलनलाई पुनः वैचारिक रूपमा सुदृढ बनाउँदै संगठन, प्रशिक्षण र जनआधार विस्तारमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याएका छन्।



























































