विराटनगर- सरकारले जिटुजी प्रक्रियामार्फत खरिद गरेको रासायनिक मल विराटनगर आउन थालेपछि पूर्वी नेपालका किसानलाई मल आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
कोशी प्रदेशका १३ जिल्ला तथा मधेस प्रदेशका सिरहा र सुनसरीका किसानलाई लक्षित गरी ल्याइएको ८ हजार ५ सय मेट्रिक टन डीएपी मल विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा आउन थालेको हो।
कृषि सामग्री कम्पनी लिमिटेड विराटनगर प्रादेशिक कार्यालयका अनुसार हालसम्म ५ सय मेट्रिक टनभन्दा बढी डीएपी मल कार्यालयमा दाखिला भइसकेको छ। आएको मललाई सम्बन्धित जिल्लामा पठाउने काम सुरु गरिएको कार्यालयले जनाएको छ।
प्रादेशिक कार्यालय प्रमुख कमल पोखरेलका अनुसार डीएपीसँगै ८ हजार ५ सय मेट्रिक टन युरिया मलसमेत आउन थालेको छ। उक्त मल पनि आवश्यक प्रक्रिया पूरा गरी आइतबारदेखि सम्बन्धित जिल्लामा पठाइने तयारी गरिएको छ।
उनले यसअघि नै रासायनिक मलको सम्भावित अभावलाई ध्यानमा राखेर कृषि सामग्री कम्पनीले बफर स्टकमा रहेको डीएपी र युरिया मल वितरण गर्दै आएको जानकारी दिए।
कम्पनीका अनुसार यस वर्ष किसानको मागअनुसार मल उपलब्ध गराउन जिटुजीसँगै ग्लोबल टेन्डर प्रक्रियामार्फत समेत मल खरिद गरिएको छ। थप मल नियमित रूपमा आउन थालेपछि आगामी खेतीपातीको समयमा रासायनिक मलको अभाव नहुने कम्पनीको दाबी छ।
कृषि सामग्री कम्पनीले प्रदेशका विभिन्न जिल्लामा आवश्यकताका आधारमा मल ढुवानी तथा वितरणको व्यवस्था मिलाइरहेको जनाएको छ। किसानले समयमै मल पाउने गरी आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको कार्यालयले बताएको छ।



























































