काठमाडौं- बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमार्फत उनले गम्भीर स्वास्थ्य समस्याका कारण जिम्मेवारी निर्वाह गर्न कठिन भएको भन्दै पद त्यागेको जनाएको हो।
७६ वर्षीय शाहावुद्दिन अप्रिल २०२३ मा बंगलादेशको सेरेमोनियल राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए। उनको कार्यकाल राजनीतिक रूपमा निकै चुनौतीपूर्ण रह्यो। विशेषगरी सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत पुगेकी थिइन्, जसले बंगलादेशको राजनीतिक समीकरण नै फेरिएको थियो।
राष्ट्रपतिका प्रेस सचिवका अनुसार हालै गरिएको स्वास्थ्य परीक्षणमा शाहावुद्दिनलाई अटोनोमिक न्युरोप्याथी नामक स्नायु प्रणालीसँग सम्बन्धित रोग लागेको पुष्टि भएको छ। यस रोगका कारण उनी बेला–बेलामा केही समयका लागि चेतनाहीन हुने अवस्था आउने गरेको बताएका छन्।
शाहावुद्दिनको राजीनामाले बंगलादेशमा नयाँ राष्ट्रपति चयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। साथै, शेख हसिनाको सम्भावित स्वदेश फिर्ताभन्दा केही महिना अघि नै उच्च सरकारी तहमा उनका निकट सहयोगीको उपस्थिति समाप्त भएको विश्लेषण गरिएको छ।
राष्ट्रपतिको राजीनामापछि बंगलादेशको राजनीतिक भविष्य, नयाँ नेतृत्वको चयन र आगामी सत्ता समीकरणप्रति चासो बढेको छ।



























































