काठमाडौं – नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिने तयारीमा पुगेका छन्।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा कांग्रेसका पाँच मन्त्री सहभागी छन्। एमालेले नेकपासँग प्रदेश सरकार सञ्चालनका लागि औपचारिक सहमति गरेपछि कांग्रेसले सरकारमा निरन्तर रहनुको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो।
कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने तयारी गरिरहेका छन्। पार्टीबाट औपचारिक निर्देशन प्राप्त भएपछि राजीनामा प्रक्रिया अघि बढाइने उनीहरूको भनाइ छ। कांग्रेसले सरकारबाट बाहिरिएपछि नयाँ सत्ता समीकरणअनुसार एमाले र नेकपाले प्रदेश सरकार गठन गर्ने तयारी थालेका छन्।
प्रदेशसभाको वर्तमान अंकगणितअनुसार एमालेका २९ र नेकपाका १३ सांसद गरी ४२ सांसद पुग्ने भएकाले नयाँ गठबन्धनले सहज बहुमत प्राप्त गर्ने अवस्था छ। स्वतन्त्र सांसदको समेत समर्थन प्राप्त हुने दाबी गठबन्धन पक्षले गरेको छ।
यसबीच प्रदेश सरकारको संरचनामा पनि परिवर्तन हुने संकेत देखिएको छ। हाल १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेश सरकारलाई आठ मन्त्रालयमा सीमित गर्ने तयारी भइरहेको छ। नयाँ सत्ता समीकरणसँगै मन्त्रालयको पुनःसंरचना र मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ।
यसअघि एमाले र कांग्रेसबीच मुख्यमन्त्रीको नेतृत्व आलोपालो गर्ने सहमति भए पनि त्यो कार्यान्वयन हुन नसकेपछि दुई दलबीचको सम्बन्ध चिसिएको थियो। बजेट निर्माणका क्रममा देखिएको असमझदारीले अन्ततः सत्ता सहकार्य नै अन्त्य हुने अवस्था सिर्जना गरेको हो। अहिलेको नयाँ राजनीतिक समीकरणसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया छिट्टै अघि बढ्ने देखिएको छ।



























































