ललितपुर – बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले मलेसियामा हुने GAMMA (Global Association of Mixed Martial Arts) एसियन च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै औपचारिक बिदाइ गरेका छन्।


ADVERTISEMENT


मित्र राष्ट्र मलेसिया एसोसिएसन (MASMMAA) को निमन्त्रणामा यही जुलाई २८ देखि अगस्ट २ सम्म मलेसियाको राजधानी क्वालालम्पुरमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई महर्जनले खादा ओढाएर सम्मानसहित बिदाइ गरेका हुन्।


ADVERTISEMENT

# # #


बिदाइ कार्यक्रममा बोल्दै पूर्व मन्त्री महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका खेलाडीहरू देशको गौरव भएको उल्लेख गर्दै अनुशासन, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनमार्फत नेपालको नाम उच्च राख्न आग्रह गरे। उनले खेलकुद राष्ट्रको पहिचान र प्रतिष्ठासँग जोडिएको क्षेत्र भएकाले यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।

टोलीको नेतृत्व ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा GAMMA नेपालका अध्यक्ष बिनोद महर्जनले गरेका छन्। प्रतियोगितामा नेपालका तर्फबाट प्रकृति राई, रचना सिलवाल, एलिस भोम्जन र सन्ने सिंह सुनारले प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी अफिसियल टोलीमा सागर चित्रकार, राज महर्जन र उमेश महर्जन रहेका छन्।

टोली नेता बिनोद महर्जनका अनुसार प्रतियोगितामा २२ राष्ट्रका खेलाडीहरूको सहभागिता रहनेछ। उनले नेपाली खेलाडीहरूले लामो समयदेखि गरेको तयारीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्दै सबैबाट हौसला र शुभेच्छाको अपेक्षा गरे।

बिदाइ कार्यक्रममा सहभागीहरूले नेपाली टोलीले एसियन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै देशको शिर उच्च बनाउने विश्वास व्यक्त गरेका थिए। बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले खेलाडीहरूको मनोबल उच्च बनाउन निरन्तर साथ र प्रेरणा आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्ने धारणा व्यक्त गरे।