काठमाडौं – नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जाइकाका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।
करिब ८० महिनापछि सञ्चालनमा आएको यो सुरुङमार्ग प्रारम्भिक तीन महिनासम्म परीक्षणका रूपमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। परीक्षण सफल भएपछि अन्य सवारीसाधनलाई पनि चरणबद्ध रूपमा सञ्चालन अनुमति दिइने आयोजनाले जनाएको छ।
परीक्षण अवधिभर कुनै शुल्क नलाग्ने भए पनि नियमित सञ्चालनपछि कार, भ्यान, मिनीबस, ट्रक तथा ठूला बसका लागि सवारीको प्रकारअनुसार शुल्क लागू गरिनेछ। मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे तथा पेट्रोल, डिजेल, ग्यास वा विस्फोटक पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखादेखि धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म जोडिएको यो सुरुङमार्गले नागढुङ्गाको लामो जाम, तीव्र उकालो र घुमाउरो सडकको विकल्प प्रदान गर्नेछ। यसबाट यात्राको समय करिब एक घण्टासम्म घट्ने विश्वास गरिएको छ।
जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा करिब २५ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, जग्गा अधिग्रहण र प्राविधिक चुनौतीका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।
नागढुङ्गा सुरुङमार्ग सञ्चालनसँगै काठमाडौं उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यातायात सहजता तथा देशको आधुनिक सडक पूर्वाधार विकासमा नयाँ अध्याय सुरु भएको सरकारी अपेक्षा छ।




























































