काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि सरकारले सुरक्षा अवस्थाबारे उच्चस्तरीय समीक्षा गरेको छ।
गृहमन्त्री सुधन गुरुङले सिंहदरबारमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग बैठक गरी घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।
बैठकमा घटनास्थलको सुरक्षा अवस्था, थप सुरक्षा व्यवस्थापन तथा शान्ति कायम गर्ने उपायबारे छलफल भएको गृह मन्त्रालय स्रोतले हिमालयपोष्टलाई बताएको छ।
आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसहित स्थानीय बासिन्दा पनि घाइते भएका छन्।
प्रारम्भिक जानकारीअनुसार धार्मिक झन्डा हटाउने विषय र मन्दिर क्षेत्रमा ठूलो आवाजमा डिजे बजाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो, जसले पछि उग्र रूप लिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले हवाई फायरसमेत गरेका थिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको र क्षेत्रमा थप सुरक्षा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।



























































