भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा साउने मेलासँगै दर्शनार्थी भक्तजनको उल्लेख्य घुइँचो लागेको छ।


ADVERTISEMENT


साउन महिनाभर सञ्चालन हुने एकमहिने मेलाका क्रममा प्रत्येक सोमबार मन्दिरमा विशेष भीड लाग्ने गरेको छ। स्वदेश तथा विदेशबाट आएका श्रद्धालुहरूको आगमनले मन्दिर परिसर दिनभर भरिभराउ बनेको छ। मेला व्यवस्थापन समितिले भक्तजनको सहज दर्शनका लागि सुरक्षा, लाइन व्यवस्थापन तथा अन्य आवश्यक सुविधा मिलाएको जनाएको छ।


ADVERTISEMENT

# # #


डोलेश्वर महादेव मन्दिरका मूल पुजारी बच्चुराम जंगमका अनुसार साउन महिना भगवान् शिवको प्रिय महिना भएकाले केदारनाथको शिरका रूपमा मानिने डोलेश्वर महादेवको दर्शन गर्न आउने भक्तजनको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ।

डोलेश्वर महादेवलाई वि.सं. २०६६ साल भदौ ६ गते केदारनाथको शिरका रूपमा औपचारिक घोषणा गरिएको थियो। यही धार्मिक महत्वका कारण साउनभर मन्दिरमा विशेष पूजा, आराधना र धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन्।

मेला आयोजक समितिका अनुसार साउनभर सञ्चालन हुने धार्मिक मेला भदौ ६ गते विशेष कार्यक्रमका साथ समापन गरिनेछ। यस अवधिभर हजारौँ श्रद्धालुले डोलेश्वर महादेवको दर्शन गरी पूजा–आराधना गर्ने अपेक्षा गरिएको छ।