काठमाडौं- नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी अर्घाखाँची सिमेन्ट लिमिटेडले आगामी व्यवसायिक विस्तार र बजार प्रतिस्पर्धालाई लक्षित गर्दै वार्षिक सेल्स मिट–२०२६ भव्य रूपमा सम्पन्न गरेको छ।
साउन ९ गते पुल्चोकस्थित होटल हिमालयमा आयोजित सम्मेलनमा देशभरबाट आएका ३० भन्दा बढी बिक्री तथा मार्केटिङ प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपति मुरारका, प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल तथा निर्देशक गौरव अग्रवालको विशेष उपस्थिति रहेको थियो। सम्मेलनमा कम्पनीको आगामी व्यवसायिक रणनीति, नयाँ बिक्री नीति, बजारको वर्तमान अवस्था तथा भावी योजनाबारे विस्तृत समीक्षा गर्दै बजार विस्तारलाई थप प्रभावकारी बनाउने रणनीतिमा छलफल गरिएको थियो।
सहभागीहरूले बिक्री अनुभव, बजारका चुनौती र अवसरबारे अन्तरक्रियात्मक छलफल गरेका थिए। कम्पनीले बिक्री टोलीबीच समन्वय सुदृढ गर्दै आगामी लक्ष्य हासिल गर्न साझा प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
सम्मेलनका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने बिक्री प्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कम्पनी नेतृत्वले कर्मचारीहरूको समर्पण, मेहनत र व्यवसाय विस्तारमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गरेको थियो।
अर्घाखाँची सिमेन्टले ‘सही तौल, सही मूल्य, सही गुणस्तर’ भन्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याउँदै गुणस्तरीय उत्पादन, ग्राहकप्रतिको विश्वास र निरन्तर सुधारलाई प्राथमिकतामा राखेर नेपालको निर्माण क्षेत्रमा अझ प्रभावकारी योगदान दिने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार यस सम्मेलनले बिक्री रणनीतिलाई थप मजबुत बनाउनुका साथै देशभरको बिक्री सञ्जाललाई एकीकृत गर्दै व्यवसायिक वृद्धिलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।




























































