काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई व्यावसायिक ड्राइभिङ पेशामा अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ।


ADVERTISEMENT


काठमाडौंमा आयोजित एक समारोहमा तीन महिनाको तालिम सफलतापूर्वक पूरा गरेका १० जना महिलालाई प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा सहभागीहरूलाई सम्मान गर्नुका साथै सुरक्षित र आत्मनिर्भर रूपमा दुईपाङ्ग्रे सवारी सञ्चालन गर्न आवश्यक सीप, आत्मविश्वास र स्रोत–साधन उपलब्ध गराइएको इनड्राइभले जनाएको छ।


ADVERTISEMENT

# # #


सन् २०२६ अप्रिलमा सुरु गरिएको यो कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई मोबिलिटी क्षेत्रमा रोजगारी तथा आर्थिक अवसरसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रममार्फत महिलालाई परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको ड्राइभिङ पेशामा प्रवेश गर्न प्रेरित गर्नुका साथै सामाजिक र व्यवहारिक अवरोध कम गर्न जोड दिइएको कम्पनीले जनाएको छ।

तालिम अवधिमा सहभागीलाई व्यावहारिक राइडिङ, सडक सुरक्षा, ट्राफिक नियम, औपचारिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रिया तथा आत्मरक्षासम्बन्धी तालिम समेत प्रदान गरिएको थियो। प्रत्येक सहभागीलाई हेल्मेट, प्राथमिक उपचार सामग्रीसहितको सुरक्षा किट पनि वितरण गरिएको थियो।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सहभागीलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे।

इनड्राइभका प्रतिनिधिहरूले महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित रोजगारी र मोबिलिटी क्षेत्रमा समान अवसर सिर्जना गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए। कम्पनीका अनुसार महिला चालकको संख्या बढेसँगै यात्रुहरूले पनि आफूअनुकूल चालक छनोट गर्ने थप विकल्प पाउनेछन्।

समापन समारोहमा सहभागी १० महिलाको प्रेरणादायी यात्रामाथि आधारित भिडियो प्रदर्शन गरिएको थियो। साथै एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरिएको थियो, जसले उनीहरूको व्यावसायिक यात्राको सुरुवातलाई थप सहज बनाउने विश्वास व्यक्त गरिएको छ।