काठमाडौं- उज्यालो नेपाल पार्टीले वर्तमान सरकार सस्तो प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएको छ। काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीले सरकारलाई समग्र अर्थतन्त्रमा देखिएको निराशा हटाउँदै जनतामा आशा र विश्वास जगाउने काममा ध्यान दिन आग्रह गरेको हो।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले सरकारले जनहितकारी नीति र सकारात्मक कदमलाई रचनात्मक सहयोग गर्ने तर जनविरोधी निर्णय, कमजोर कार्यसम्पादन, संस्थागत कमजोरी, भ्रष्टाचार संरक्षण तथा राज्य सञ्चालनमा देखिएका गैरजिम्मेवार प्रवृत्तिको लोकतान्त्रिक ढंगले सशक्त विरोध गर्ने निर्णय गरेको जानकारी दिएको छ।


ADVERTISEMENT

# # #


पार्टीले पछिल्लो समय राज्य सञ्चालनमा देखिएका कमजोरीप्रति चिन्ता व्यक्त गर्दै संविधान, कानुन र स्थापित प्रक्रियाभन्दा माथि कुनै व्यक्ति, पद वा शक्ति हुन नसक्ने स्पष्ट पारेको छ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो समय राज्य सञ्चालनमा व्यक्तिकेन्द्रित निर्णय शैली प्रभावशाली बन्दै गएको जनगुनासो बढिरहेको बताए। उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्थाको विश्वसनीयता र राज्य प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने जोखिम रहेको उल्लेख गरेका छन्।

घिसिङले बाहिरबाट नियुक्त स्वकीय तथा सल्लाहकारहरूले मन्त्रालयका सचिव तथा कर्मचारीमाथि अनावश्यक हस्तक्षेप गर्दा स्थायी कर्मचारीतन्त्र निरुत्साहित र निराश बन्ने अवस्था आएको पनि बताएका छन्।

बैठकले देशको दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरणका लागि ‘हरित क्रान्ति, समृद्ध नेपाल’ भन्ने राष्ट्रिय मार्गचित्र केन्द्रीय समितिबाट पारित गरेको अध्यक्ष घिसिङले जानकारी दिएका छन्।