काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी नेपालका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै कुनै पनि विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतान्त्रिक समाजमा असहमति र मतभेदको समाधान संवाद, कानुनी प्रक्रिया र आपसी समझदारीबाट खोजिनुपर्ने उल्लेख गरेका छन्। हिंसा र उत्तेजनाले समस्या झन् जटिल बनाउने भएकाले सबै पक्षलाई संयमता अपनाउन उनले आग्रह गरेका छन्।
लामिछानेले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। साथै, घटनामा प्रभावित र पीडितलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले नागरिकलाई अफवाह र उत्तेजनाबाट टाढा रहँदै सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक विश्वास कायम राख्न अपिल गरेका छन्। राज्यका निकायले पनि संयम, निष्पक्षता र कानुनको शासनका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ।
लामिछानेले शान्तिपूर्ण संवाद र न्यायपूर्ण प्रक्रियामार्फत मात्रै समाजमा दिगो शान्ति र विश्वास कायम हुन सक्ने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।




























































