काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ।
कांग्रेस सभापति गगन थापाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम सम्मान व्यक्त गरेको छ। नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले पनि पार्टी कार्यालय पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
७९ वर्षको उमेरमा श्रेष्ठको निधन भएपछि बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले तीन दिन शोक मनाउने निर्णय गरेको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार श्रावण १३, १४ र १५ गतेसम्म केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाइनेछ। साथै, श्रावण १४ गते बिहीबार देशभरका कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरू बन्द रहनेछन्।
त्यस्तै, स्वर्गारोहणको १३ दिनसम्म पार्टीका सबै तहका कार्यालयहरूमा शोक पुस्तिका राखिने निर्णय पनि गरिएको छ। नेता श्रेष्ठको राजनीतिक योगदानप्रति सम्मान व्यक्त गर्दै कांग्रेसले उहाँको स्मृतिमा शोक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।




























































