काठमाडौं – एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान, नेपालले आफ्ना मागहरू तत्काल सम्बोधन नभए साउन १९ गतेदेखि आमरण अनशन सुरु गर्ने चेतावनी दिएको छ।
अभियानका संयोजक डिल्ली हरिजनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलले अध्ययन प्रतिवेदन तयार गरी आवश्यक सिफारिससमेत पेश गरिसकेको उल्लेख गर्दै अब निर्णय मात्र बाँकी रहेको बताएका छन्।
विज्ञप्तिमा अभियानले लामो समयदेखि सरकारसँग संवाद, छलफल, पत्राचार तथा शान्तिपूर्ण प्रदर्शनमार्फत आफ्ना माग उठाउँदै आएको उल्लेख गरिएको छ। तर, हालसम्म कार्यान्वयनको ठोस निर्णय नभएको भन्दै असन्तुष्टि जनाइएको छ।
अभियानले साउन २८ गतेभित्र कार्यदलको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा आयोगको फुल हाउस बैठकबाट आवश्यक निर्णय नभए साउन १९ गते बिहान १० बजेदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशन सुरु गर्ने घोषणा गरेको छ।
संयोजक हरिजनले सरकार, चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायलाई समयमै निर्णय गरी इन्टर्न चिकित्सकहरूको स्टाइपेन्ड एकरूपतासम्बन्धी माग सम्बोधन गर्न आग्रह गरेका छन्।




























































