शेषराज भट्टराई
यो शीर्षक देखेर यो लेख पढ्न छिर्नुभएको छ भने, तपाईं पनि सायद म जस्तै सिनेमा र साहित्य मनपराउनु हुन्छ। साधारण मनोरञ्जनले प्रायः मस्तिष्कमा क्षणिक डोपामिनर्जिक उत्तेजना मात्र उत्पन्न गर्छ, जसको प्रभाव तत्कालीन आनन्दसँगै क्रमशः क्षीण हुँदै जान्छ। तर उच्चकोटिको साहित्य, सिनेमा वा कलाले त्यसको ठीक विपरीत मस्तिष्कको संरचना र कार्यप्रणालीमै सूक्ष्म हस्तक्षेप गर्छ। आधुनिक न्युरोसाइन्सका अनुसार यस्ता अनुभवहरूले मस्तिष्कको न्युरोप्लास्टिसिटीलाई सक्रिय बनाउँछन्। अर्थात् मस्तिष्कले नयाँ न्युरल कनेक्सनहरू निर्माण गर्न थाल्छ, नयाँ दृष्टिकोण स्वीकार्न सिक्छ र पुराना सोचका सीमाहरू विस्तार गर्न थाल्छ।
यही कारणले उत्कृष्ट सिनेमा वा कृतिहरू हेरेपछि वा पढेपछि मानिस पहिलेको जस्तो रहँदैन। उसको सोच्ने तरिका, संसारलाई बुझ्ने दृष्टि, नैतिक संवेदनशीलता विस्तार हुँदै जान्छ।
अब सिनेमाको कुरा गरौँ।
मेरो लागि सिनेमा जीवनको एउटा महत्त्वपूर्ण हिस्सा हो। फुर्सद मिल्नेबित्तिकै म सिनेमा हेर्न मन पराउँछु। म कुनै एउटा विधाका चलचित्रमा सीमित छैन। मलाई कुनै विशेष विधाको मोह पनि छैन। कथा राम्रो होस्, निर्देशन सशक्त होस्, अभिनय प्रभावशाली होस् र चलचित्रले केही सोच्न बाध्य बनाओस् भने म जुनसुकै प्रकारका चलचित्र हेर्छु।
केही दिनअघि मैले क्रिस्टोफर नोलनको द ओडिसी हेर्ने अवसर पाएँ। यो सिनेमा आईम्याक्समा हेर्ने ठूलो इच्छा थियो। दुर्भाग्यवश, नेपालमा अझै आईम्याक्स सुविधा उपलब्ध छैन। त्यसैले त्यो अनुभव लिन सकिनँ।
यस लेखमा भने म सिनेमाको समीक्षा गर्ने छैन। त्यसबारे धेरैले लेखिसकेका छन्। बरु, यो सिनेमाले मलाई फेरि एकपटक होमरको ओडिसी, त्यसको तीन हजार वर्ष लामो यात्रा र त्यसले विश्व साहित्य तथा सिनेमामा छोडेको गहिरो प्रभावबारे सोच्न बाध्य बनायो। यही यात्राबारे केही कुरा लेख्ने प्रयास गर्दैछु ।
एउटा कुरा भने भन्नैपर्छ, क्रिस्टोफर नोलनको सिनेमा द ओडिसी ले फेरि एकपटक होमरको तीन हजार वर्ष पुरानो महाकाव्यलाई विश्वव्यापी चर्चाको केन्द्रमा ल्याइदिएको छ। म्याट डेमन, टम हल्यान्ड, एनी ह्याथवे, जेन्डाया, लुपिटा न्योङओ र रोबर्ट प्याटिन्सनजस्ता कलाकारहरूले यी पात्रहरूलाई आधुनिक दर्शकमाझ जीवन्त बनाएका छन्।
मेरो विचारमा, नोलनको सबैभन्दा ठूलो सफलता यही हो। उनले ओडिसीलाई नयाँ पुस्तालाई होमरसम्म पुग्ने ढोका खोलिदिएका छन्। यो सिनेमा हेरेपछि धेरै दर्शकले पहिलोपटक ओडिसी खोजेर पढ्नेछन्, ओडिसियसबारे जान्न खोज्नेछन्, र तीन हजार वर्ष पुरानो कथा आज पनि किन सान्दर्भिक छ भन्ने प्रश्न गर्नेछन्।
क्रिस्टोफर नोलनको द ओडिसी हेरेपछि फेरि एकपटक होमरको ओडिसीको तीन हजार वर्ष लामो यात्रातर्फ मेरो ध्यान गयो। वास्तवमा, यो महाकाव्य, यसको यात्रा र विश्व साहित्यमा परेको यसको ट्रजेक्टरी सधैँ मेरो रुचिको विषय रहँदै आएको छ।
होमरका दुई महान् महाकाव्य छन्—इलियड र ओडिसी। तीन हजार वर्षभन्दा पुराना यी दुवै कृतिलाई आज पनि विश्व साहित्यका सबैभन्दा प्रभावशाली र क्लासिक रचनामध्ये गनिन्छ। साहित्यका म्याग्नम ओपस ।
होमरको इलियड ले ट्रोय युद्धको कथा भन्छ। कथाअनुसार ट्रोयका राजकुमार, पेरिस स्पार्टा पुग्छन्। त्यहाँ उनी स्पार्टाकी रानी हेलेनसँग प्रेममा पर्छन् र उनलाई ट्रोय लिएर जान्छन्। हेलेन आफ्नै इच्छाले गइन् वा उनको अपहरण भयो भन्ने विषयमा प्राचीन स्रोतहरूमा फरक(फरक मत पाइन्छ। तर यही घटनाले ठूलो युद्धको सुरुआत गराउँछ। स्पार्टाका राजा मेनेलाउस र उनका दाजु अगामेम्नोनले ग्रीसका विभिन्न राज्यलाई एकजुट गर्दै ट्रोयविरुद्ध युद्धको घोषणा गर्छन्। यही युद्धमा सहभागी हुन इथाकाका राजा ओडिसियस पनि स्पार्टा पुग्छन् र ग्रीक सेनामा सामेल हुन्छन्। यसरी इतिहास र विश्वसाहित्यकै सबैभन्दा प्रसिद्ध युद्धमध्ये एक—ट्रोय युद्ध—सुरु हुन्छ।
यो युद्धमा मानिस मात्र होइन, ग्रीक देवताहरू पनि विभाजित हुन्छन्। एथेना, हेरा र पोसाइडन ग्रीक पक्षमा उभिन्छन् भने एफ्रोडाइट, एपोलो र एरेस ट्रोजन पक्षलाई साथ दिन्छन्। त्यसैले ट्रोय युद्ध देवता, भाग्य र मानव इच्छाबीचको संघर्ष पनि हो।
ट्रोय युद्ध दस वर्षसम्म चल्छ। अन्ततः ग्रीक सेनाले विजय हासिल गर्छ र ट्रोयको पतन हुन्छ। सामान्यतः कथा यहीँ समाप्त हुनुपर्ने जस्तो लाग्छ। तर होमरका लागि वास्तविक कथा यहींबाट सुरु हुन्छ।
ट्रोय युद्ध सकिएको छ। विजय प्राप्त भइसकेको छ। अब इथाकाका राजा ओडिसियस घर फर्किन निस्कन्छन्। तर घर पुग्ने यात्रा पनि युद्धजत्तिकै कठिन हुन्छ। समुद्रका देवता पोसाइडनको क्रोधका कारण उनलाई आफ्नै राज्य इथाका पुग्न अर्को दस वर्ष लाग्छ। यही दस वर्ष लामो यात्राको कथा हो ओडिसी ।
पहिलो नजरमा ओडिसी एउटा साहसिक समुद्री यात्राको कथा जस्तो देखिन्छ। ओडिसियसले समुद्री आँधीको सामना गर्छन्, एकआँखे राक्षस साइक्लोप्ससँग जुध्छन्, सिरेनहरूको मोहक गीत सुन्छन्, जादुगरनी सर्सेको टापुमा पुग्छन्, स्किल्ला र क्यारिब्डिसबीचको जोखिमपूर्ण बाटो पार गर्छन् र मृत्युलोकसम्मको यात्रा पनि गर्छन्।
यहा बुझ्नुपर्ने कुरो के हो भने ओडिसियस, अकिलिसजस्ता बलका नायक पनि होइनन्। होमरले उनलाई पोलिमेटिस अर्थात् बुद्धिमान र चतुर पात्रका रूपमा चित्रण गरेका छन्। उनी बलभन्दा बढी धैर्य र सही निर्णयमा विश्वास गर्छन्। साइक्लोप्सको गुफाबाट उनी तरबारको बलले होइन, आफ्नो योजनाले उम्कन्छन्। सिरेनहरूको मोहक गीतबाट बच्न उनी आफ्ना साथीहरूको कानमा मैन हाल्न लगाउँछन् र आफूलाई जहाजमा बाँध्न आदेश दिन्छन्।
ओडिसी, प्राचीन ग्रीसको कथा मात्र होइन। यो आफ्नो घर, आफ्नो पहिचान र आफ्ना मानिसहरूको खोजीमा रहेका हरेक मानिसको कथा हो। त्यसैले आज पनि ओडिसी विश्वभरका विश्वविद्यालयमा पढाइन्छ, लेखकहरूले यसलाई नयाँ दृष्टिकोणबाट पुनर्लेखन गर्छन्, र चलचित्र निर्देशकहरूले नयाँ पुस्ताका लागि फेरि जीवित बनाइरहेका छन्।
तीन हजार वर्ष बितिसक्दा पनि ओडिसी ले सोधेको प्रश्न उही छ—मानिसको सबैभन्दा लामो यात्रा कहाँ पुगेर टुंगिन्छरु संसार जितेर, कि अन्ततः आफ्नै घर र आफ्नै पहिचानमा फर्केररु
ओडिसीको प्रभाव होमरको ग्रीक महाकाव्य बनेर सीमित रहेन। यो कथा शताब्दीयौँको अन्तराल पार गर्दै विभिन्न सभ्यता, भाषा र राजनीतिक सन्दर्भमा पुनर्लेखन, पुनर्व्याख्या र रूपान्तरणको यात्रा तय गर्यो। साहित्यिक इतिहासमा यसलाई ‘प्रत्याग्रहण’ वा ‘शास्त्रीय परम्परा’ को उत्कृष्ट उदाहरण मानिन्छ—जहाँ एउटा पाठ अर्को सभ्यताको आवश्यकता, आकांक्षा र वैधता(निर्माण प्रक्रियासँग मिसिएर नयाँ अर्थ प्राप्त गर्छ।
यस यात्राको पहिलो ठूलो र निर्णायक उदाहरण रोमन कवि भर्जिलको ‘एनिड’ हो। भर्जिलले होमरको कथालाई जस्ताको तस्तै दोहोर्याएनन्स उनले ओडिसी र इलियड दुवैबाट संरचनात्मक ढाँचा, प्रसङ्ग र प्रतीकहरू उधारे, तर ती सामग्रीलाई आफ्नो युग—अगस्टसको रोम—को राजनीतिक र सांस्कृतिक आवश्यकताअनुसार सर्वथा नयाँ दिशा प्रदान गरे। यस प्रक्रियालाई आधुनिक साहित्यिक सिद्धान्तमा इन्टरटेक्सटुअल ट्रान्सफर्मेसन भनिन्छ ।
ओडिसीमा ओडिसियसको केन्द्रीय चाहना एउटै छ—‘नोस्टस’, अर्थात् जसरी पनि आफ्नै घर र राज्य फर्किनु। उनको यात्रा पीडा, परीक्षा र आत्मपरिष्कारको यात्रा हो, तर अन्तिम लक्ष्य सधैँ ‘फिर्ता’ नै रहन्छ। घर उनका लागि पहिचान, स्मृति र वैधताको स्रोत हो।
तर ‘एनिड’ का नायक एनिअसको अवस्था भने पूर्णतः भिन्न छ। उनको ट्रॉय नष्ट भइसकेको हुनाले घर फर्किने कुनै सम्भावना रहँदैन। त्यसैले उनी ‘फिर्ता’ होइन, ‘नयाँ सुरुवात’को यात्रामा निस्कन्छन्। यसरी ‘एनिड’ मार्फत ओडिसीको व्यक्तिगत ‘नोस्टस’ लाई सामूहिक ‘राष्ट्र(मिथक’ मा रूपान्तरित गरियो। एनिअसको यात्रा रोमको जन्मकथा बन्न पुग्यो—जहाँ हारलाई विजयमा, विनाशलाई सृष्टिमा र निर्वासनलाई साम्राज्य निर्माणमा परिणत गरिएको छ। भर्जिलले यस माध्यमबाट अगस्टसको शासनलाई ऐतिहासिक निरन्तरता र दैवी वैधता प्रदान गरे।
यसपछि पनि ओडिसीको यात्रा रोकिएन। यसको गहिरो छाप पुरानो अङ्ग्रेजी महाकाव्य ‘बिउल्फ’ मा पनि स्पष्ट देखिन्छ। बाह्य रूपमा यी दुई कथा भिन्न लाग्छन्—एउटा भूमध्यसागरको समुद्री यात्रा, परीक्षण र घर फिर्ताको गाथा हो भने अर्को उत्तरी युरोपको अँध्यारो हल, राक्षस र ड्र्यागनसँगको युद्धको कथा। तर गहिराइमा पुग्दा दुवैले एउटै जीवन्त प्रश्न सोध्छन्—साँचो नायक को होरु
समय फेरि अघि बढ्यो। नयाँ पुस्ता आयो। अनि लेखकहरूले अर्को प्रश्न सोध्न थाले। हामीले ओडिसियसको कथा धेरै सुन्यौँ, तर उनको वरिपरि रहेका पात्रहरूको कथा किन कहिल्यै सुनिएन ?
यही प्रश्नबाट ओडिसी को अर्को यात्रा सुरु भयो।
यसपटक कथाको केन्द्रमा ओडिसियस थिएनन्। केन्द्रमा सर्से थिइन्, पेनेलोप थिइन् र इथाकाका ती महिलाहरू थिए, जो मूल कथामा प्रायः मौन थिए। माडेलिन मिलरले सर्से लेखिन्। उनले जादुगरनी भनेर चिनिएकी सर्सेलाई नयाँ रूपमा चिनाइन्।
त्यसपछि मार्गरेट एटवुडले पेनेलोपियाड लेखिन्। उनले एउटा सरल प्रश्न सोधिन्—ओडिसियस बीस वर्ष घरबाहिर हुँदा पेनेलोपले के गरिरहेकी थिइन्रु उनले के सोचिन्रु उनले कस्ता कठिन निर्णय गरिन्रु यसपटक पेनेलोप आफैंले आफ्नो कथा सुनाइन्।
क्लेयर नर्थको पुस्तक इथाका ले अझ फरक प्रश्न उठायो। जब पुरुषहरू युद्धमा थिए, त्यसबेला राज्य कसले चलायोरु परिवार कसले जोगायोरु समाज कसरी टिकिरह्योरु उनले इतिहासमा धेरै कम सुनिएका महिलाहरूको भूमिकालाई कथाको केन्द्रमा ल्याइन्।
साहित्यमा ओडिसीको चर्चा गर्दा यहा विख्यात साहित्यकार ‘हेनरिक इब्सन’ को ‘अ डल्स हाउस’ रिलेट गर्न मन लाग्यो। सन् १८७९ मा हेनरिक इब्सेनले लेखेको यो नाटक आधुनिक युरोपेली साहित्यको प्रभावशाली कृतिले “घर”, “वुमनहुड” र “व्यक्तिगत स्वतन्त्रता” का अवधारणाहरूलाई नै गम्भीर चुनौती दियो ।
नाटककी केन्द्रीय पात्र नोरा हेल्मर अन्त्यमा आफ्नो श्रीमान्, सन्तान र घर छोडेर बाहिर निस्किन्छिन्। उनीसँग कुनै स्पष्ट गन्तव्य छैन। त्यो समयका लागि यो अन्त्य अत्यन्त साहसी र विवादास्पद थियो। समकालीन दर्शक र आलोचकहरूले यसलाई नैतिक विनाश, पारिवारिक विघटन र सामाजिक व्यवस्थाको उल्लङ्घनका रूपमा हेरे। तर इब्सेनले एउटा अत्यन्त महत्त्वपूर्ण प्रश्नको उत्तर दिएनन्—नोरा त्यसपछि कहाँ गइन्रु उनले आफ्नो नयाँ जीवन कसरी सुरु गरिन्रु उनको भविष्य कस्तो भयोरु उनले स्वतन्त्रताको मूल्य कति तिर्नुपर्यो ?
त्यसपछिका शताब्दीहरूमा धेरै लेख, अनुसन्धान, नाटक, उपन्यास र सैद्धान्तिक विमर्शहरू लेखिए। केही लेखकहरूले नोरालाई समाजवादी आन्दोलनमा जोडे, केहीले उनलाई अस्तित्ववादी खोजको प्रतीक बनाए, केहीले उनको जीवनलाई आर्थिक र लैङ्गिक शोषणको निरन्तरताका रूपमा चित्रण गरे। धेरैले आफ्नै कल्पनाअनुसार नोराको अर्को जीवनको कथा पनि रचे—कहिले सफल स्वतन्त्र नारीका रूपमा, कहिले असफल र पश्चात्तापपूर्ण रूपमा।
यही प्रक्रिया ओडिसीसँग गहिरो रूपमा जोडिन्छ। होमरले कथा समाप्त गरे—ओडिसियस घर फर्किए, पेनेलोपसँग पुनर्मिलन भए, शान्ति स्थापना भयो। तर ओडिसियसको यात्रा त्यहीँ रोकिएन। पछि आएका लेखक, कवि र चिन्तकहरूले उनलाई नयाँ दृष्टिले हेरे, नयाँ अर्थ दिए र नयाँ युगअनुसार पुनः सिर्जना गरे। ओडिसियसको यात्रा “घर फर्किने” यात्रा होस नोराको यात्रा “घर छोड्ने” यात्रा हो। एउटामा गन्तव्य स्पष्ट छ—घर। अर्कोमा गन्तव्य अज्ञात छ—स्वयं। तर दुवै कथाले एउटै आधारभूत प्रश्न उठाउँछन्—व्यक्ति आफ्नो पहिचान कहाँबाट निर्माण गर्छरु घरबाटरु
सम्बन्धबाटरु समाजबाटरु कि आफ्नै निर्णयबाट ?
नोरा ओडिसियसको उल्टो प्रतिबिम्ब बनिन्—जहाँ एकजना घर फर्केर पूर्णता खोज्छ, अर्की घर छोडेर पूर्णता खोज्छिन्। होमरले ओडिसियसको यात्रा समाप्त गरेस इब्सेनले नोराको यात्रा सुरु गरे। तर दुवै यात्रा अझै जारी छन्—पाठक, लेखक र चिन्तकहरूको कल्पनामा।
होमरको ‘ओडिसी’ बाट प्रेरित भएर लेखिएका कृतिमध्ये सबैभन्दा चर्चित र प्रभावशाली कृति जेम्स जोयसको ‘युलिसिस’ हो। जेम्स जोयसको युलिसिस आधुनिक संसारको महाकाव्य हो। जोयसले महाकाव्यको परम्परागत परिभाषालाई नै उल्टाइदिए।
रोचक कुरा के छ भने ‘युलिसिस’ ओडिसियसकै ल्याटिन नाम हो। ग्रीक परम्परामा उनी ओडिसियस हुन् भने रोमन परम्परामा युलिसिस।
होमरको ओडिसी मा ट्रोय युद्ध सकिएपछि इथाकाका राजा ओडिसियस घर फर्किन निस्केको कथालाई जेम्स जोयसले आधुनिक समयमा ल्याए। उनले समुद्र हटाइदिए, देवता हटाइदिए, राक्षस हटाइदिए। अनि एउटा साधारण मानिसको सामान्य दिनलाई महाकाव्य बनाए।
यहाँ एउटा रोचक साहित्यिक संयोग पनि छ। केहीअघि हामीले हेन्रिक इब्सेनको ए डल्स हाउस र नोराबारे कुरा गरेका थियौँ । जोयसले युलिसिसको सम्पूर्ण कथा १६ जुन १९०४ को एउटै दिनमा राखेका छन्। त्यो दिन उनका लागि विशेष थियो, किनभने त्यही दिन उनले आफ्नी जीवनसाथी बन्ने नोरा बार्नाकलसँग पहिलो अर्थपूर्ण भेट गरेका थिए।
युलिसिसको सबैभन्दा ठूलो विशेषता यसको चेतनाको प्रवाह शैली हो। पाठकले पात्रहरूले बोलेका कुरा मात्र होइन, उनीहरूको मनमा क्षण–क्षण जन्मिने विचार, सम्झना, डर, इच्छा र कल्पनासमेत पढ्न पाउँछ।
बीसौँ शताब्दीमा जेम्स जोयसले यही कथालाई आधुनिक संसारमा ल्याए। यहाँ एउटा साधारण मानिस—लियोपोल्ड ब्लूम—छन्। ब्लूम बिहान घरबाट निस्कन्छन्। दिनभरि डब्लिनका सडकमा हिँड्छन्। मानिसहरूलाई भेट्छन्। चिहान जान्छन्। खाना खान्छन्। आफ्ना सम्बन्ध, सम्झना, पीडा र जीवनबारे सोच्दै साँझ फेरि घर फर्किन्छन्। बाहिरबाट हेर्दा यो एउटा सामान्य दिन मात्र हो। तर जोयसका लागि यही सामान्य दिन आधुनिक महाकाव्य हो।
ओडिसियस समुद्रमा भौँतारिएका थिए, ब्लूम आफ्नै मनभित्र भौँतारिन्छन्। ओडिसियसले राक्षससँग सामना गरेका थिए, ब्लूमले एक्लोपन, पूर्वाग्रह, असुरक्षा र सम्बन्धका जटिलतासँग सामना गर्छन्। ओडिसियस घर फर्किन खोज्छन्, ब्लूम पनि दिनको अन्त्यमा घर नै फर्किन्छन्। समय बदलियो, ठाउँ बदलियो, संघर्ष बदलियोस तर यात्राको अर्थ बदलिएको छैन।
मोली ब्लूम आधुनिक पेनेलोप हुन्। तर जोयसले उनलाई पर्खिरहेकी पत्नी बनाएनन्। उनले आफ्नै विचार, आफ्नै भावना र आफ्नै आवाज भएको स्वतन्त्र पात्रका रूपमा प्रस्तुत गरे। यसरी पुरानो कथाले आधुनिक समाजमा नयाँ अर्थ पायो।
यही कारणले होमरदेखि जोयससम्म आइपुग्दा कथा फेरिएको छैन, तर त्यसलाई हेर्ने दृष्टि फेरिएको छ। लेखकहरूले पुरानो कथालाई मेटाएका होइनन्स त्यसलाई नयाँ समयसँग संवाद गराएका हुन्। एउटै कथामा नयाँ प्रश्न थपे, नयाँ पात्रलाई बोल्ने अवसर दिए र पुरानो यात्रालाई नयाँ अर्थ प्रदान गरे । ओडिसियसको यात्रा आज पनि जारी छ—कहिले समुद्रमा, कहिले शहरका सडकमा, त कहिले हाम्रै मनभित्र ।



























































