काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर राजनीतिक नेतृत्वबीच समन्वय गर्नुपर्ने बताएका छन्।
बिहीबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले नै अग्रसर भएर सबै दललाई एक ठाउँमा ल्याउनुपर्ने बताएका हुन्।
उनले राष्ट्रिय र संवेदनशील विषयमा सत्ता र प्रतिपक्षको विभाजनभन्दा माथि उठेर साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा राखे। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै जाति, समुदाय र वर्गबीच आपसी सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
पुनले वर्तमान भूराजनीतिक अवस्था र देशको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सरकारले अझ गम्भीर र जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
साथै, संसद् सञ्चालन भइरहेका बेला प्रधानमन्त्री र गृहमन्त्री स्वयं संसद्मा उपस्थित भएर देशको समग्र सुरक्षा अवस्थाबारे सांसद र जनतालाई जानकारी गराउनुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन्।



























































