विराटनगर –‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने नारासहित विराटनगरमा शुक्रबार शान्तिपूर्ण सद्भाव र्‍याली आयोजना गरिएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिकामा साउन १० गते भएको घटनापछि विभिन्न स्थानमा देखिएको तनाव र विवाद अन्त्य गर्दै धार्मिक, जातीय तथा साम्प्रदायिक सद्भाव कायम गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।


ADVERTISEMENT


विराटनगरको महेन्द्र चोकबाट सुरु भएको र्‍याली नगरका विभिन्न मुख्य सडक परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि पुगेर समापन भएको थियो। र्‍यालीमा सहभागीहरूले शान्ति, सहिष्णुता, आपसी सम्मान र राष्ट्रिय एकताको पक्षमा विभिन्न नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।


ADVERTISEMENT

# # #


समापन कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले धार्मिक तथा साम्प्रदायिक घटनाले समाजमा द्वन्द्व र वैमनस्यता मात्र होइन, शान्ति–सुरक्षामा समेत प्रतिकूल प्रभाव पार्ने भएकाले सबै समुदायबीच आपसी विश्वास र सहकार्य आवश्यक रहेको बताएका छन्।

उनले धार्मिक सद्भाव भड्काउने तथा समाजलाई विभाजन गर्ने गतिविधिलाई निरुत्साहित गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जालमा फैलिने अफवाह र भ्रामक सूचनाबाट सचेत रहँदै सत्य र तथ्यमा आधारित सूचना मात्रै प्रवाह गर्न पनि उनले आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा आयोजित सद्भाव र्‍यालीमा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, श्रमिक, नागरिक समाजका अगुवा, युवाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै संवाद, सहिष्णुता र पारस्परिक सम्मानमार्फत मात्रै समाजमा दीर्घकालीन शान्ति कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन्।