विराटनगर- बिराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गतको बिराट क्यान्सर इन्स्टिच्युट (बीसीआई) ले पूर्वी नेपालमै पहिलो पटक थोरासिक अन्कोसर्जरी (फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको शल्यक्रिया) सेवा सुरु गरेको छ। यससँगै फोक्सोको क्यान्सर तथा छातीसम्बन्धी जटिल शल्यक्रियाका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास अस्पतालले व्यक्त गरेको छ।
नयाँ सेवाको नेतृत्व जीआई–एचपिबी अन्कोसर्जन, ब्रेस्ट अन्कोसर्जन तथा साइटोरिडक्टिभ एण्ड हाइपेक सर्जन डा. शिवराज शर्माले गर्ने भएका छन्। उनले भारतको टाटा मेडिकल सेन्टर, कोलकाता र चीनको सांघाई पल्मोनरी अस्पतालबाट थोरासिक अन्कोसर्जरी तथा युनिपोर्टल भ्याट्स र र्याट्स सम्बन्धी अन्तर्राष्ट्रिय फेलोसिप तालिम पूरा गरी पुनः बिराट क्यान्सर इन्स्टिच्युटमा सेवा सुरु गरेका हुन्।
अस्पतालका अनुसार अब फोक्सोको क्यान्सरसँगै छातीसम्बन्धी अन्य जटिल क्यान्सरहरूको शल्यक्रिया पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वी नेपालमै उपलब्ध हुनेछ। वरिष्ठ फोक्सो तथा श्वासप्रश्वास एवं निद्रा रोग विशेषज्ञ प्रा. डा. पुरु कोइराला र डा. रेजिना शाहीसहितको विशेषज्ञ टोलीले बिरामीलाई बहुआयामिक उपचार सेवा प्रदान गर्नेछ।
थोरासिक अन्कोसर्जरी टोलीमा अन्को सर्जन डा. जगरनाथ चौधरी, अन्को एनेस्थेसियोलोजिस्ट डा. रुजन बम तथा अन्को–फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ सहभागी छन्। अस्पतालले विशेषज्ञ चिकित्सकहरूको समन्वित टोलीमार्फत शल्यक्रियादेखि उपचारपछिको पुनःस्थापनासम्मको सेवा एउटै छानामुनि उपलब्ध गराउने जनाएको छ।
बिराट क्यान्सर इन्स्टिच्युटमा यसअघि नै सर्जिकल अन्कोलोजी, मेडिकल अन्कोलोजी तथा हेमाटोलोजी, क्लिनिकल अन्कोलोजी, रेडिएसन अन्कोलोजी, किमोथेरापी, न्युक्लियर मेडिसिन तथा इन्टरभेन्सनल रेडियोलोजी सेवा सञ्चालनमा छन्। अब थोरासिक अन्कोसर्जरी सेवा थपिएसँगै संस्थाले पूर्वी नेपालमै समग्र क्यान्सर उपचार सेवा प्रदान गर्ने क्षमता विस्तार गरेको जनाएको छ।
डा. शर्माका अनुसार फोक्सोको क्यान्सरको शल्यक्रिया दूरबिन प्रविधिबाट गरिनेछ, जसले कम चिरफार, कम पीडा, कम रक्तस्राव तथा छिटो स्वास्थ्य लाभ हुने सुविधा प्रदान गर्छ। साथै निकट भविष्यमा रोबोटिक सर्जरी सेवा पनि सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्।
त्यसैगरी, फोक्सो तथा श्वासप्रश्वास नलीनजिक रहेका गिर्खा वा क्यान्सरको प्रारम्भिक पहिचानका लागि इन्डोब्रोंकियल अल्ट्रासाउन्ड जाँच सेवा पनि उपलब्ध गराइएको छ। यस प्रविधिबाट प्रारम्भिक अवस्थामै रोग पत्ता लगाउन सहज हुने र उपचारको सफलता दर बढ्ने चिकित्सकहरूको भनाइ छ।
अस्पताल प्रशासनका अनुसार अन्तर्राष्ट्रिय स्तरको तालिम प्राप्त विशेषज्ञ चिकित्सक, अत्याधुनिक प्रविधि र एउटै संस्थाभित्र सम्पूर्ण क्यान्सर उपचार सेवा उपलब्ध भएकाले बिरामीले काठमाडौं वा विदेश धाउनुपर्ने अवस्था हट्नेछ। यसबाट बिरामी तथा उनका परिवारको समय, खर्च र मानसिक तनावसमेत उल्लेखनीय रूपमा कम हुने विश्वास अस्पतालले व्यक्त गरेको छ।



























































