काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय नेता नैनसिंह महरले पार्टीभित्र बढ्दै गएको गुटगत ध्रुवीकरण अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउने उद्देश्यसहित ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत महरले कांग्रेसको एकता केवल पार्टीभित्रको आवश्यकता नभई लोकतन्त्रको रक्षा, राष्ट्रिय स्थायित्व र जनविश्वास पुनःस्थापनासँग जोडिएको ऐतिहासिक जिम्मेवारी भएको बताएका हुन्।


ADVERTISEMENT


महरले नेपालको राजनीतिक इतिहासले बारम्बार प्रमाणित गरेको उल्लेख गर्दै कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक मूल्य–मान्यता कमजोर हुने र पार्टी विभाजित हुँदा प्रतिगामी शक्तिहरूलाई बल पुग्ने अवस्था सिर्जना हुने बताएका छन्। अहिले कांग्रेस गम्भीर आत्मसमीक्षा र एकताको मोडमा उभिएको भन्दै उनले नेता–कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्।


ADVERTISEMENT

# # #


उनले मुलुक अहिले बहुआयामिक संकटबाट गुज्रिरहेको बताएका छन् । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लामा फैलिँदा नागरिकको ज्यान गएको, ठूलो धनजनको क्षति भएको तथा सामाजिक सद्भावमा गम्भीर असर परेको उनको भनाइ छ। त्यससँगै आर्थिक मन्दी, बेरोजगारी, युवाको बढ्दो विदेश पलायन, सुशासनको चुनौती र जनजीविकाका समस्याले नागरिकलाई थप निराश बनाइरहेको उनले उल्लेख गरेका छन्।

महरले यस्ता संवेदनशील राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताजनक भएको बताएका छन्।जनताले बलियो प्रतिपक्ष खोजिरहेका छन्, तर कांग्रेस आफैं विभाजित देखिनु राम्रो संकेत होइन, उनले भने।

यही परिस्थितिलाई मध्यनजर गर्दै अभियानअन्तर्गत २०८३ साल साउन २० गते बिहान ११ बजे काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने घोषणा गरिएको छ। उक्त भेलामा देशभरका ७५३ स्थानीय तह, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न वर्ग, समुदाय र तहका कांग्रेस नेता–कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।

महरका अनुसार यो अभियान कुनै व्यक्ति, गुट वा नेतृत्व परिवर्तनको अभियान नभई कांग्रेसलाई वैचारिक, सांगठनिक र भावनात्मक रूपमा पुनः एकताबद्ध बनाउने राष्ट्रिय अभियान हो। भेलाबाट पार्टी एकतालाई संस्थागत गर्ने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने तथा आगामी अभियानको विस्तृत कार्ययोजना सार्वजनिक गरिने उनले जानकारी दिएका छन्।

उनले कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक तथा सञ्चारमाध्यमलाई अभियानमा साथ दिन आग्रह गर्दै पार्टीलाई फेरि जनविश्वासको केन्द्रमा स्थापित गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

पत्रकार सम्मेलनको अन्त्यमा महरले कांग्रेसको एकतामै नेपालको लोकतान्त्रिक भविष्य सुरक्षित रहेको उल्लेख गर्दै भने,”ूकांग्रेस जुट्यो भने लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्र बलियो भयो भने नेपाल बलियो हुन्छ। त्यसैले आजको आवश्यकता गुट होइन, एकता होस विभाजन होइन, विश्वास होस व्यक्तिगत महत्वाकांक्षा होइन, राष्ट्र र लोकतन्त्रको साझा संकल्प हो”।