काठमाडौं – संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुनः वार्ता भई आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ। जनकपुरस्थित यात्री निवासमा गृहमन्त्री सुधन गुरुङ र मोर्चाका प्रतिनिधिबीच भएको वार्तामा यसअघि भएका सहमतिलाई थप स्पष्ट पार्दै मागपत्रलाई १८ बुँदामा विस्तार गरिएको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार राति भएको १३ बुँदे सहमतिमा रहेका केही अस्पष्ट विषय आइतबारको वार्तामा स्पष्ट पारिएको छ। विशेषगरी सहमतिपत्रको स्वरूप, हस्ताक्षर र अन्य प्रक्रियागत विषयमा उठेका जिज्ञासाको समाधान भएपछि दुवै पक्ष सन्तुष्ट भएका छन्।
मोर्चाका प्रतिनिधिहरूले आफ्नो मागपत्र गृहमन्त्रीसमक्ष औपचारिक रूपमा बुझाएका छन्। वार्तापछि मोर्चाले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ।
हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले वार्ताका क्रममा केही बुँदा संशोधन गरिएको र सरकारबाट माग सम्बोधन गर्ने प्रतिबद्धता प्राप्त भएको बताए। उनले गृहमन्त्रीले आन्दोलनका क्रममा बल प्रयोग नगर्ने र गोली नचलाइने प्रतिबद्धता व्यक्त गरेको दाबी गरे।
यसअघि शनिबार गृहमन्त्रीलाई बुझाइएको १३ बुँदे मागपत्रमा हिन्दू राष्ट्र पुनःस्थापनादेखि आन्दोलनका कार्यक्रम फिर्ता लिनेसम्मका विषय समेटिएका थिए। पछिल्लो वार्तापछि ती विषयलाई थप स्पष्ट र विस्तृत बनाउँदै सहमतिलाई अगाडि बढाइएको जनाइएको छ।



























































