काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’ जस्ता समूहहरूसँग गृहमन्त्रीले वार्ता गरेकोमा आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसिभा बैठकमा अध्यक्ष साम्पाङले नेपाल एक सार्वभौम देश भएकाले यहाँ ’नेपाली सेना’ बाहेक अन्य कुनै सेनाको अस्तित्व हुन नसक्ने भन्दै ’हिन्दू सम्राट सेना’ जस्ता समूहहरूसँग गृहमन्त्रीले वार्ता गरेकोमा आपत्ति जनाएका हुन् । यस्ता ’सेना’ नाम जोडिएका समूहहरूलाई सरकारले प्रतिबन्ध निषेध गर्नुपर्ने र तिनीहरूसँग वार्ता गर्न नहुने उनले बताएका छन् ।
त्यस्तै अध्यक्ष साम्पाङले आफु जनकपुर जान खोज्दा एउटा समूहले बाटो छेक्ने र निषेध गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन् । साउन ५ गते जनकपुरमा श्रमदाताहरूमाथि अज्ञात समूहबाट कुटपिट भएको र त्यसबारे गृहमन्त्रीलाई जानकारी गराउँदा पनि कारबाही नभएको भन्दै उनले सरकारको जवाफ माग गरेका छन् ।
उनले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाहरू बर्खायाममा थुनेर राख्दा नेपालको आफ्नै भूभाग डुबानमा पर्ने गरेको भन्दै डुबानको समस्यामा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
उनले सुनसरी लगाएतका स्थानमा हालै घटेका घटनाहरूको निष्पक्ष र सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।



























































