काठमाडौं – नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति संसदमा प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले संवैधानिक व्यवस्था, कानुनी प्रक्रिया तथा विगतका अभ्यासभन्दा बाहिर गएर गृहमन्त्रीले सहमति गरेको टिप्पणी गरेका छन्। उनले मृतकका परिवारसँग सहमति भए पनि उनीहरूको मन जित्न सरकार सफल हुन नसकेको दाबी गरेका हुन्।
सांसद बरालले सुनसरी घटनाको छानबिन सरकारले गठन गरेको समितिबाट निष्पक्ष हुन नसक्ने भन्दै न्यायिक समितिमार्फत अनुसन्धान गरिनुपर्ने माग गरेका छन्।
उनले घटनाको सत्यतथ्य उजागर गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै सरकारले दीर्घकालीन रूपमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।



























































