काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद अमरेशकुमार सिंहले मधेशमा सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाउँदै आन्दोलनका क्रममा बल प्रयोगको अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले मधेशमा कुनै पनि आन्दोलन वा प्रदर्शन हुँदा लाठीचार्ज वा अश्रुग्यास प्रयोग नगरी सिधै गोली चलाउने गरिएको भन्दै यसको औचित्यमाथि प्रश्न गरेका छन्। उनले प्रहरीसँग लाठी वा अश्रुग्यासको अभाव भएको हो वा आवश्यक तालिमको कमी भएको हो भन्ने प्रश्न पनि उठाएका छन्।
सांसद सिंहले मधेशलाई पछाडि पार्ने, गरिब बनाइराख्ने र विरोधका आवाजमाथि गोली चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।
उनले नेपाली सेना मधेशमा परिचालन हुँदा स्थानीय नागरिकले सेनामा आफ्नै अनुहार नदेख्ने र नेपाली सेनालाई नै विदेशी सेनाजस्तो ठान्ने मनोविज्ञान अन्त्य गर्न समावेशी प्रतिनिधित्व र विश्वास निर्माणमा सरकारले ध्यान दिनुपर्ने धारणा राखेका छन् ।



























































