काठमाडौं- नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजार लक्षित गर्दै प्रदर्शनमा आउने भएको छ।
हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, नेपाली मिथक तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित यो फ्यान्टासी–एड्भेन्चर फिल्मले नेपाली कथा, संस्कृति र आध्यात्मिक विरासतलाई आधुनिक एनिमेसनमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ।
फिल्मको कथा १२ वर्षीया एक बालिका र उनका साथीहरू रहस्यमय संसारमा पुगेपछि सुरु हुन्छ। उनीहरूले विभिन्न चुनौती पार गर्दै प्रेम, मित्रता, करुणा र साहसको वास्तविक अर्थ खोज्ने यात्रालाई फिल्मले प्रस्तुत गरेको छ।
फिल्मको नेपाल तथा चयनित अन्तर्राष्ट्रिय बजारमा वितरणको जिम्मा एप्पल इन्टरटेनमेन्टले लिएको छ। कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय वितरण सञ्जालमार्फत फिल्मलाई विभिन्न देशका सिनेमाघरसम्म पुर्याउने जनाएको छ।
फिल्मका कार्यकारी निर्माता तथा एप्पल इन्टरटेनमेन्टका अध्यक्ष नाकिम उद्दिनले नेपाली कथालाई विश्व दर्शकमाझ पुर्याउन पाउनु गौरवको विषय भएको बताएका छन्। कम्पनीकी प्रबन्ध निर्देशक विपश्यना श्रेष्ठले पनि नेपाली सांस्कृतिक परिवेशमा आधारित फिल्मलाई विश्वव्यापी दर्शकमाझ पुर्याउने अवसर उत्साहजनक रहेको उल्लेख गरेका छन्।
फिल्मका निर्माता तथा निर्देशक किरण भट्ट जोशी हुन्। उनी यसअघि हलिउडका चर्चित परियोजनामा भिजुअल इफेक्ट्स क्षेत्रमा काम गरिसकेका छन्। फिल्मको पटकथा हलिउडका चर्चित लेखक ज्याक स्टेन्ट्जले लेखेका हुन्।
निर्माण पक्षका अनुसार ‘लस्ट इन मण्डला’ ले नेपाली एनिमेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाली मिथक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु प्रस्तुत गर्ने नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।



























































