हेटौंडा- बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच बज्राचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
बज्राचार्यको नियुक्तिसँगै बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ। उनी हाम्रो नेपाली पार्टी (हानेपा)का तर्फबाट सरकारमा सहभागी भएका हुन्।
यसअघि हानेपाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गर्दै सरकारमा सहभागी हुने सहमति जनाएको थियो। सोही सहमतिअनुसार बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो।
बागमती प्रदेश सरकारमा हानेपाको सहभागितासँगै सत्तारुढ गठबन्धन थप बलियो हुने अपेक्षा गरिएको छ। सरकार र हानेपाबीच प्रदेशको विकास निर्माण, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा सहकार्य गर्ने समझदारी बनेको जनाइएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश सरकारको महत्वपूर्ण मन्त्रालयमध्ये एक मानिन्छ। सडक, पुल, सरकारी भवन तथा अन्य पूर्वाधार निर्माण र विस्तारका योजनाको कार्यान्वयनको जिम्मेवारी यही मन्त्रालयअन्तर्गत रहने भएकाले बज्राचार्यको नियुक्तिलाई प्रदेश सरकारका लागि महत्त्वपूर्ण मानिएको छ।
नवनियुक्त मन्त्री बज्राचार्यले शपथग्रहणपछि प्रदेशको पूर्वाधार विकासलाई तीव्रता दिने, निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्ने तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकासका कामलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



























































