काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूसँग समसामयिक राजनीतिक अवस्था, विकास आयोजना तथा स्थानीय समस्याका विषयमा छलफल गरेका छन्।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा भएको छलफलमा सांसदहरूले सरकारले सुशासन, सेवा प्रवाह तथा विकास निर्माणका क्षेत्रमा गरेका कामबारे संसदमार्फत नागरिकलाई प्रभावकारी रूपमा जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले सरकारले गरेका उपलब्धि जनतामाझ स्पष्ट रूपमा पुग्ने गरी सूचना प्रवाह गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।


ADVERTISEMENT

# # #


छलफलपछि सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना, स्थानीय तहका समस्या तथा सुदूरपश्चिम प्रदेशको समग्र अवस्था प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको जानकारी दिए। उनले प्रदेशका विकासका सम्भावना, विद्यमान चुनौती तथा राजनीतिक अवस्थाबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको बताएका छन्।

यस्तै, सांसद केपी खनालले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरको तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण तथा तटबन्ध निर्माण लगायतका विषयमा देखिएका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

त्यसैगरी, भन्सार व्यवस्थापन, आरक्षपीडितका समस्या, हुलाकी राजमार्ग, किसानका लागि धान खरिद–बिक्रीको व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान नियन्त्रणका विषय पनि छलफलका क्रममा उठाइएको जनाइएको छ।

छलफलमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो। प्रधानमन्त्रीले सांसदहरूले उठाएका विषयलाई सम्बन्धित निकायमार्फत आवश्यक पहल गरी समाधानको प्रयास गरिने विश्वास दिलाएको जनाइएको छ।