काठमाडौं – नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक र बैंकका कर्मचारीले काठमाडौंको नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल तथा सोअन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गराउँदा बिरामी दर्ता र चेकअपमा शतप्रतिशतसम्म तथा विभिन्न अस्पताल सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रबन्ध निर्देशक रोशन लुइँटेलले हस्ताक्षर गरेका छन्।
बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक र कर्मचारीले गुणस्तरीय स्वास्थ्य सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।



























































