काठमाडौं- भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
विद्यालय भवनको शिलान्यास नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गत केन्द्रीयस्तरीय आयोजना कार्यान्वयन इकाइ (सीएलपीआईयू) का आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रममा नेपाल सरकारका अधिकारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
करिब ६ करोड ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगमा कार्यान्वयन हुन लागेको हो। निर्माण हुने पूर्वाधारमा दुईवटा भवन, १८ कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा प्रशासनिक कक्ष रहनेछन्।
कार्यक्रममा आयोजना निर्देशक लक्ष्मीप्रसाद भट्टराईले नेपालभर विद्यालय पुनर्निर्माणमा भारत सरकारले निरन्तर गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा आधुनिक शिक्षण–सिकाइ वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले शिलान्यास समारोहले नेपाल–भारतबीचको बलियो र दीर्घकालीन विकास साझेदारीलाई थप सुदृढ बनाएको उल्लेख गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा पुनर्निर्माणका क्षेत्रमा भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आएको पनि बताएका छन्।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोग कार्यक्रमअन्तर्गत हालसम्म नेपालमा ८५ वटा शैक्षिक संस्था, १३३ वटा स्वास्थ्य संस्था, ३० वटा सांस्कृतिक सम्पदा स्थल तथा ५० हजार निजी आवास पुनर्निर्माणमा सहयोग प्रदान गरिएको छ।


























































