काठमाडौं-  दिपक रञ्जित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा काठमाडौं महानगर समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। राप्रपा काठमाडौं महानगरपालिकाको अधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि रञ्जितको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।


ADVERTISEMENT


राप्रपा काठमाडौं महानगर निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार अपराह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयसीमाभित्र अध्यक्ष पदमा रञ्जितको एकल उम्मेदवारी दर्ता भएपछि निर्वाचन समितिले उनलाई निर्विरोध निर्वाचित भएको जनाएको छ। महानगर समितिका सदस्य पदका उम्मेदवारहरू पनि सर्वसम्मत चयन भएका छन्।


ADVERTISEMENT

# # #


प्रहरी सेवाबाट अवकाश लिएपछि राजनीतिमा सक्रिय भएका रञ्जित नेपाल प्रहरीका अनुभवी अधिकृतका रूपमा परिचित छन्। उनले प्रहरी सेवाका क्रममा काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए। उपत्यकाका तीनवटै जिल्लाको नेतृत्व गर्ने सीमित प्रहरी अधिकृतमध्ये उनी एक मानिन्छन्। लामो प्रशासनिक अनुभव, सुरक्षा व्यवस्थापन तथा काठमाडौंको भौगोलिक, सामाजिक र प्रशासनिक संरचनाबारे गहिरो ज्ञान भएकाले उनी प्रभावशाली नेतृत्व दिन सक्ने अपेक्षा गरिएको राप्रपाका नेताहरूको भनाइ छ।

राप्रपाले महानगर समितिको निर्वाचन प्रक्रिया सम्पन्न भए पनि नवनिर्वाचित नेतृत्वको औपचारिक घोषणा भने शनिबार साउन २३ गते गर्ने जनाएको छ। घोषणा सभा बिहान ८ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुनेछ।

घोषणा सभालाई राजेन्द्र लिङ्देन ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरू, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहने जनाइएको छ।

राप्रपाले काठमाडौं महानगरमा संगठन विस्तार, स्थानीय तहमा पार्टीको प्रभाव बढाउने तथा आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ नेतृत्व चयन गरिएको जनाएको छ। प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार नवगठित महानगर समितिले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ काम अघि बढाउनेछ।