काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं सार्वजनिक व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।
ललितपुरमा आयोजित नेपाल सुशासन सम्मेलनमा बोल्दै ढकालले एक–अर्कालाई दोषारोपण गर्नुभन्दा नागरिकमा आशा र विश्वास जगाउने गरी काम गर्नुपर्ने बताए।
उनले विगतका राम्रा कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गर्नुपर्नेमा जोड दिए। नागरिकले दैनिक उपभोग्य वस्तुमा भोग्नुपरेको सास्तीप्रति आफू संवेदनशील रहेको भन्दै सरकार र संसद्ले नागरिकको भरोसा जित्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नयाँ सरकार आएपछि नागरिकमा उत्साह र आशा देखिएको बताए। उनले यसलाई आर्थिक रूपान्तरण र समृद्धिको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
भट्टले आन्तरिक स्रोतलाई प्राथमिकता दिँदै उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्नुपर्ने बताए। कार्यक्रमका अन्य सहभागीले पनि सुशासनका लागि सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।


























































