काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरूबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाएका छन्।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायबाटै संविधानमा सुनिश्चित गरिएका अधिकार र उपलब्धिमाथि पटक–पटक प्रश्न उठाइनु गम्भीर विषय भएको बताए।
उनले संविधानले आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू तथा अन्य सीमान्तकृत समुदायको पहिचान, अधिकार र प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गरे। यी उपलब्धि कुनै व्यक्ति वा सरकारको निगाहमा प्राप्त नभएको भन्दै उनले पुस्तौँदेखि गरिएको संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त अधिकारलाई कमजोर बनाउन नहुने बताएका छन्।
आङ्देम्बेले संविधानमा लिपिबद्ध अधिकार र पहिचानलाई संरक्षण गर्नु सबै राजनीतिक दल र राज्यको जिम्मेवारी भएको धारणा राखे। संविधानका उपलब्धिलाई कमजोर पार्ने वा पछाडि फर्काउने प्रयास भए त्यसको प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ।
उनले प्राप्त उपलब्धिको संरक्षणका लागि नेपाली कांग्रेसले सरकारलाई संसद् र सडक दुवैबाट खबरदारी गर्ने चेतावनीसमेत दिए। संविधानमा सुनिश्चित भएका अधिकार कार्यान्वयनमा कुनै कमजोरी भए त्यसलाई सुधार गर्न कांग्रेसले निरन्तर दबाब दिने उनले बताए।
आङ्देम्बेले आदिवासी जनजातिसहित पछाडि पारिएका तथा सीमान्तकृत समुदायले प्राप्त गरेको अधिकारलाई थप संस्थागत गर्दै राज्यका हरेक निकायमा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार संविधानले दिएको अधिकारलाई कागजमा मात्रै सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ। लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको मूल भावना र समावेशी चरित्रलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।


























































