काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधान र विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको पुनरावलोकन आदेशको सामना गर्न कांग्रेस तयार रहेको बताएका छन्। आइतबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस डराउनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन्।
थापाले विशेष महाधिवेशन विधानसम्मत रूपमा भएको र निर्वाचन आयोगले समेत त्यसलाई सदर गरिसकेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशलाई सहज रूपमा लिएर त्यसको कानुनी सामना गर्ने बताएका छन्।
उनले शेरबहादुर देउवा पक्षलाई समेत समेटेर निष्पक्ष महाधिवेशन गर्न आफू तयार रहेको दाबी गर्दै महाधिवेशनमा सहभागी नभएका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत नेतृत्वको पक्षमा उभिन आग्रह गरेका छन्। पार्टीभित्र कसैलाई पहिलो वा दोस्रो दर्जाको व्यवहार नगर्ने उनको भनाइ छ।
सभापति थापाले कांग्रेसभित्रको विवाद अब राजनीतिक विषयमा मात्रै सीमित नरही न्यायिक र कानुनी लडाइँका रूपमा समेत अघि बढ्न सक्ने संकेत गरे। पछिल्लो राजनीतिक परिस्थितिप्रति नागरिकमा बढ्दै गएको असन्तुष्टिलाई दलहरूले गम्भीर रूपमा लिनुपर्ने उनको धारणा छ।
उनले विगतमा राजनीतिक दलहरूले पाएको अवसर सही ढंगले प्रयोग गर्न नसक्दा नागरिकमा आक्रोश बढेको बताएका छन्। नागरिकको निराशा कुनै एउटा दलप्रति मात्रै नभई समग्र राजनीतिक प्रणालीप्रति फैलिएको उल्लेख गर्दै थापाले कांग्रेस अब चुप लागेर नबस्ने स्पष्ट पारेका छन्।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै थापाले सरकार संविधान र विधिअनुसार अघि बढ्नुपर्ने बताएका छन्। कार्यपालिका न्यायपालिका र संसद्माथि हाबी हुन खोजेको भन्दै उनले त्यसतर्फ सचेत रहनसमेत आग्रह गरेका छन्।
सभापति थापाले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा पनि प्रश्न उठाएका छन्। प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता स्वतन्त्र निकायमाथि हस्तक्षेप भएको आरोपसमेत लगाएका छन्।


























































