काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराईज क्यापिटल र लक्ष्मी सनराईज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीका लागि पूँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ सुरक्षा र चुनौतीसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
साउन २४ गते आयोजित कार्यक्रममा अहोरात्र सडक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी कर्मचारीको दीर्घकालीन आर्थिक सुरक्षालाई लक्षित गर्दै धितोपत्र बजारका संयन्त्र, लगानी गर्ने तरिका, लगानीका फाइदा तथा चुनौतीका विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा सुरक्षित डिजिटल वित्तीय कारोबारका विषयमा समेत विस्तृत जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ। वक्ताहरूले सडक अनुशासनजस्तै वित्तीय अनुशासन पनि अपरिहार्य रहेको उल्लेख गर्दै नियमित बचतबाट सुरक्षित लगानीको सुरुवात गर्न सकिने बताएका थिए।
‘बचतका साथै लगानी गर्ने बानी बसालौं र समृद्ध भविष्य निर्माण गरौं’ भन्ने उद्देश्यका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमले सहभागीहरूमा लगानी गर्ने बानीप्रति सकारात्मक सोच विकास गर्न प्रेरित गरेको आयोजकको भनाइ छ।
कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी अधिकृत, आयोजक संस्थाका पदाधिकारी तथा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।



























































