काठमाडौं – गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोषअन्तर्गतको खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ (Garima Subarna Yojana) का इकाईहरूको नियमित बिक्री, पुनःखरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा आएको छ।


ADVERTISEMENT


गरिमा क्यापिटलले साउन २६ गते मंगलबारदेखि लगानीकर्तालाई सहज, सुरक्षित र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।


ADVERTISEMENT

# # #


अनलाइन प्रणालीमार्फत लगानीकर्ताले एकमुष्ट लगानी गरी इकाई खरिद तथा रकम भुक्तानी गर्न, व्यवस्थित लगानी योजना (SIP) दर्ता तथा किस्ता भुक्तानी गर्न सक्नेछन्। त्यस्तै, लाभांश पुनःलगानी योजना (DRIP) दर्ता, अनलाइन प्रणालीमा दर्ता तथा लगइन गरी प्रोफाइल व्यवस्थापन गर्ने सुविधा पनि उपलब्ध गराइएको छ।

यसैगरी, लगानीकर्ताले इकाई पुनःखरिद, SIP संशोधन तथा SIP रद्द गर्नेसमेतका सुविधा अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्। आगामी दिनमा थप अनलाइन सेवाहरू क्रमशः थप गर्दै लगिने गरिमा क्यापिटलले जनाएको छ।

योजनासम्बन्धी सेवाहरू गरिमा क्यापिटलको कमलपोखरीस्थित कार्यालयका साथै गरिमा विकास बैंकका देशभर रहेका शाखा कार्यालयबाट समेत लिन सकिने व्यवस्था गरिएको छ।

गरिमा सुवर्ण योजनाको अनलाइन दर्ता तथा कारोबारका लागि gsym.garimacapital.com प्रयोग गर्न सकिनेछ। साथै, गरिमा क्यापिटल र गरिमा विकास बैंकको वेबसाइटमा उपलब्ध लिंकमार्फत पनि प्रणालीमा पहुँच गर्न सकिनेछ।

योजनाका इकाईहरूको खरिद तथा बिक्री कटअफ समयअनुसार निर्धारण हुने खुद सम्पत्ति मूल्य (NAV) का आधारमा हुने जनाइएको छ। लगानी गर्नुअघि योजनाको स्वीकृत विवरणपत्र अनिवार्य रूपमा अध्ययन गर्न पनि लगानीकर्तालाई आग्रह गरिएको छ। सामूहिक लगानी कोषमा गरिने लगानी बजार जोखिममा आधारित हुने भएकाले लगानीकर्ताले जोखिमलाई ध्यान दिनुपर्ने सूचनामा उल्लेख छ।