काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले राज्यको कर नीति व्यवहारिक नभएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोको उद्घाटन सत्रमा अध्यक्ष श्रेष्ठले सवारी साधनहरूलाई केवल विलासिताको वस्तुको रुपमा परिभाषित गर्दै भन्सार थप निरन्तर थप गर्नु उचित नभएको समेत बताए । अटोमोवाईल क्षेत्र मुलुकका लागि अपरिहार्य भएकाले यसलाई केवल विलासिताको रुपमा हेर्न नहुने उनले बताए ।
उनले विगत २०–२५ वर्षदेखि प्रत्येक राजनीतिक परिवर्तन र सरकारपिच्छे काठमाडौँमा सडक विस्तार, फ्लाईओभर लगाएतका ठूला योजनाहरुको कुरा भएपनि व्यवहारमा ठोस प्रगति हुन नसकेको बताए । काठमाडौँ उपत्यकामा सवारी साधनको सङ्ख्या तीव्र रूपमा बढेको तर सोही अनुपातमा सडकको घनत्व र व्यवस्थापनका लागि ट्राफिक प्रहरीको जनशक्ति बढ्न नसकेको उनले बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोभिड–१९ पछि अर्थतन्त्रको प्रभावकारी व्यवस्थापन र निजी क्षेत्रमैत्री नीति नहुँदा निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको बताए । सम्पत्ति शुद्धीकरण ऐन र आयस्रोत खोजीसम्बन्धी कडाइका कारण सवारी साधन खरिद तथा अन्य व्यापारमा सन्त्रास फैलिएको र विगतको आम्दानीको अभिलेखीकरण नहुँदा व्यवसायीहरूलाई समस्या परेको उनले बताए ।
त्यस्तै नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले चालु आर्थिक वर्षमा राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिेए ।



























































